२४ भदौ, काठमाडौं । काठमाडौंको वीर अस्पतालमा उपचाररत थप दुई घाइते प्रदर्शनकारीको मृत्यु भएको छ। यससँगै जेनजी आन्दोलनको क्रममा ज्यान गुमाउनेको संख्या २१ पुगेको छ।
वीर अस्पतालमा कार्यरत एक वरिष्ठ चिकित्सकका अनुसार, मंगलबार दिउँसो गम्भीर घाइते अवस्थामा ल्याइएका दुई व्यक्तिको उपचारको क्रममा मृत्यु भएको हो।
“दुई जनाको उपचारकै क्रममा मृत्यु भयो। अझै केही गम्भीर घाइते छन्,“ ती चिकित्सकले जानकारी दिए।
देशभर चर्किएको आन्दोलन, सुरक्षाकर्मीको बल प्रयोगको चर्को आलोचना
यसअघि सोमबार मात्रै काठमाडौंमा १७ जना र इटहरीमा २ जनाको मृत्यु भएको पुष्टि भएको थियो। आज थप दुई जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको आधिकारिक संख्या २१ मा पुगेको हो।
शान्तिपूर्ण रूपमा सुरु भएको न्भल श् आन्दोलन सोमबार हिँसात्मक बनेपछि सुरक्षाकर्मीले गोली चलाएको, अश्रुग्याँस प्रहार गरेको र लाठीचार्ज गरेको घटनाले आमजनमा त्रास फैलिएको छ।
चिकित्सा प्रणालीमा चाप, रक्तदान अपिल
घाइतेहरूको उपचारमा काठमाडौंका विभिन्न अस्पतालमा अत्यधिक चाप रहेको बताइएको छ। चिकित्सकहरूले रक्त अभाव हुन सक्ने चेतावनी दिँदै रक्तदान गर्न सबैमा आग्रह गरेका छन्।
वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताललगायतका ठाउँमा घाइतेहरूको उपचार भइरहेको छ।
मृतकको विस्तृत विवरण आउन बाँकी
मृतकको नाम, ठेगाना र उमेरबारे विस्तृत विवरण अझै सार्वजनिक गरिएको छैन। प्रहरी प्रशासन र स्वास्थ्य मन्त्रालयले घटनाबारे आधिकारिक प्रेस विज्ञप्ति सार्वजनिक गर्ने तयारीमा छन्।
















