२५ भदौ, रौतहट । रौतहटको जिल्ला कारागार गौरबाट मंगलबार राति ठूलो संख्यामा कैदी फरार भएका छन् । करिब राति १० बजेको समयमा कारागारमा रहेका एक सय ३९ जना कैदी फरार भएको कारागार प्रशासनले जनाएको छ ।
कारागारमा जम्मा दुई सय जना कैदी रहेका मध्ये हाल ६१ जना मात्र भित्र रहेका छन् । फरार कैदीहरूको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी (सीडीओ) विनोद कुमार खड्काले जानकारी दिए ।
फरार हुनेहरू विभिन्न मुद्दामा सजाय भोगिरहेका कैदी भएको प्रारम्भिक तथ्यांकले देखाएको छ । सुरक्षाकर्मीहरू रातिदेखि नै नजिकैका क्षेत्रमा व्यापक सर्च अपरेसन सञ्चालन गरिरहेका छन् ।
घटनापछि कारागार वरिपरि सुरक्षा घेराबन्दी थपिएको छ भने सीमावर्ती क्षेत्रहरूमा समेत विशेष निगरानी बढाइएको छ ।















