Logo

२८ भदौ,काठमाडौं । राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले प्रतिनिधिसभा विघटन गर्ने निर्णयको कडा विरोध जनाएको छ। पार्टी अध्यक्ष चित्रबहादुर केसीले शनिबार विज्ञप्ति जारी गर्दै संसद् विघटनलाई जनताको लोकतान्त्रिक अधिकारमाथिको आक्रमण भएको टिप्पणी गरेका हुन्।

विज्ञप्तिमा भनिएको छ, “प्रतिनिधिसभा विघटन जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक व्यवस्थाको उपहास हो। यो कदम संविधान, गणतन्त्र र जनताको म्यान्डेटको खिल्ली उडाउने गरी आएको छ।”

जनमोर्चाले हालको परिस्थितिमा राष्ट्रपतिले संविधानको संरक्षकको रूपमा भूमिका निर्वाह गर्न नसकेको आरोप लगाउँदै, जेन–जी आन्दोलनको मागका विपरीत राष्ट्रपतिको अडानले असन्तुलन निम्त्याएको उल्लेख गरेको छ।

विज्ञप्तिमा जनाइएको छ कि जेन–जी आन्दोलनलाई केही राजावादी शक्तिहरूले आफ्नो पक्षमा मोड्न खोजेपनि त्यसमा असफल भएका छन्।

जनमोर्चाले संसद् बाहिरबाट बनेको अन्तरिम सरकार र संसद् विघटनजस्ता कार्यले प्रतिगामी शक्तिहरूलाई बल पुग्ने चेतावनी दिंदै, गणतन्त्रको रक्षा गर्न सबै लोकतान्त्रिक दलहरूलाई सचेत र एकजुट हुन आह्वान गरेको छ।

पार्टीले राजनीतिक संकट समाधानका नाममा संविधान विपरीत हुने कुनै पनि कदमको विरोध गर्ने स्पष्ट पारेको छ।


सम्बन्धित समाचार