Logo

२८ भदौ,वीरगञ्ज । काठमाडौंमा जेन–जी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका वीरगन्ज–१२ मुर्लीका २२ वर्षीय असहाब आलमलाई शनिबार विहान भावपूर्ण वातावरणमा अन्त्येष्टि गरिएको छ।

शुक्रबार राति काठमाडौंबाट घर ल्याइएको उनको शवलाई बिहान जनाजा (शवयात्रा) सहित मुर्ली पोखरी नजिकको मुस्लिम कब्रिस्तानमा अन्त्येष्टि गरिएको हो। मुस्लिम धार्मिक परम्पराअनुसार गरिएको दाहसंस्कारमा हजारौं स्थानीयवासी, जेन–जी आन्दोलनका युवा प्रतिनिधिहरू, मुस्लिम र हिन्दू समुदायका नागरिकहरूको उल्लेखनीय उपस्थिति थियो।

पूर्व वडाध्यक्ष तुफान अन्सारीसहित सहभागीहरूले आलमको शवमा नेपालको राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए।

दुई महिनाअघि मात्रै वैवाहिक जीवनमा बाँधिएका आलम काठमाडौंमा स्नातक अध्ययन तथा रोजगारीको सिलसिलामा बसोबास गर्दै आएका थिए। मंगलबारको प्रदर्शनका दिन उनी पठाओ राइडरका रूपमा यात्रु लिएर गोङ्गबु जाँदै गर्दा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको परिवारको भनाइ छ।

पूर्व वडाध्यक्ष अन्सारीका अनुसार, आलमको पेट र छातीमा गोली लागेको थियो। मंगलबार बिहान १० बजेपछि सम्पर्कविहीन बनेका आलमको शव काठमाडौँको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा फेला परेको थियो।

वीरगन्जको ग्लोबल बिजनेस कलेजबाट कक्षा १२ पास गरेका आलम काठमाडौंमा उच्च शिक्षासँगै पार्टटाइम काम गरेर परिवारलाई सहयोग गरिरहेका थिए।

यस घटनाले वीरगन्जसहित देशभर शोक, आक्रोश र चिन्ताको माहोल बनाएको छ। स्थानीयहरू तथा सामाजिक अभियन्ताहरूले निर्दोष नागरिकको मृत्युको न्यायिक छानबिनको माग गरेका छन्।

आलमलाई राष्ट्रिय झण्डासहित गरिएको अन्त्येष्टि जेन–जी आन्दोलनको भावनात्मक तथा सामाजिक प्रभावको एक बलियो प्रतीकका रूपमा हेरिएको छ।


सम्बन्धित समाचार