Logo

३ असोज, काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८२ को अवसरमा अमेरिकाले नेपालप्रति शुभकामना व्यक्त गर्दै नेपाली जनताको संविधान पालना गर्ने आकांक्षा, पारदर्शी सरकार र दिगो लोकतन्त्रप्रतिको चाहनालाई समर्थन गर्ने स्पष्ट गरेको छ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले संवैधानिक दिवसको अवसरमा पठाएको शुभकामना सन्देशमा अमेरिकाले नेपालसँगको ऐतिहासिक मित्रतालाई अझ मजबुत बनाउन चाहेको उल्लेख छ। उनले भने, “दक्षिण एसियामा स्थायित्व प्रवर्द्धन गर्ने तथा सुरक्षित र स्थिर विश्व निर्माणमा योगदान पुर्‍याउने कार्यमा नेपालको साथमा घनिष्ठ सहकार्यलाई निरन्तरता दिन उत्सुक छौँ।”

सन्देशमा अमेरिकाले संविधान पालना गर्ने, उत्तरदायी र पारदर्शी सरकार सञ्चालन गर्ने नेपाली जनताको चाहनाप्रति सम्मान व्यक्त गर्दै नेपालको लोकतान्त्रिक यात्रामा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

अमेरिकी पक्षले नेपालका जनता आर्थिक वृद्धिलाई अगाडि बढाउने, क्षेत्रीय सुरक्षालाई सबल पार्ने र सबैको समृद्धि प्रवर्द्धन गर्ने आशावादी भविष्यका हकदार रहेको उल्लेख गर्दै यस यात्रामा अमेरिकाले निरन्तर सहयोग गर्ने जनाएको छ।

अमेरिकाले नेपालसँगको कूटनीतिक सम्बन्धको ७ दशकमाथि पुगेको स्मरण गर्दै आपसी समझदारी र सहयोगको आधारमा दुवै मुलुकबीचको साझेदारीलाई आगामी दिनमा अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।

संविधान दिवसको अवसरमा अमेरिकाको शुभकामना सन्देशलाई नेपालप्रति अन्तर्राष्ट्रिय समुदायको समर्थन र लोकतान्त्रिक अभ्यासप्रतिको सकारात्मक संकेतका रूपमा लिइएको छ।


सम्बन्धित समाचार
भर्खरै