३ असोज, काठमाडौँ । गत भदौ २३ र २४ गते जेन–जी आन्दोलनको क्रममा आगजनीमा परेका मीनभवनस्थित यातायात व्यवस्था विभागको कार्यालयमा रहेका स्मार्ट लाइसेन्स सम्बन्धी महत्वपूर्ण डेटा सुरक्षित रहेको पाइएको छ।
विभागका कर्मचारीका अनुसार, ब्याकअपमा रहेका डेटा रिकभर गरेर चाँडै सेवा पुनः सुरु गर्न सकिने अवस्था छ। आगजनीबाट विभागको इम्बोस्ड नम्बर प्रणाली, स्मार्ट लाइसेन्स छाप्ने मेसिन र छापिसकेका १२ लाख स्मार्ट लाइसेन्समध्ये करिब ६ लाख थान जलेर नष्ट भएका थिए। बाँकी करिब ६ लाख थान लाइसेन्स भने सुरक्षित छन्।
शुक्रबार बिहान विभाग परिसरमा आयोजित सरसफाइ कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ पनि सहभागी भएका थिए। सो अवसरमा कार्यालयका कर्मचारीहरूले मन्त्री घिसिङलाई डेटा सुरक्षित रहेकाले सेवा पुनः सुरु गर्न सकिने जानकारी दिएका थिए।
मन्त्री घिसिङले आवश्यकताअनुसार राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँग समन्वय गरेर लाइसेन्स छपाइको वैकल्पिक व्यवस्था गरिने बताए। “राष्ट्रिय परिचयपत्र छाप्ने मेसिनबाट पनि लाइसेन्स छाप्न मिल्छ,” घिसिङले भने, “विदेश जानुपर्नेहरूलाई अत्यावश्यक लाइसेन्स दिन हामी समन्वय गर्छौं।”
यातायात व्यवस्था विभागका अनुसार हाल झन्डै २५ लाख थान स्मार्ट लाइसेन्स छपाइका लागि बाँकी छन्। ती छाप्न आवश्यक सामग्री खरिदका लागि विभागले चाँडै सार्वजनिक टेन्डर आह्वान गर्ने तयारी गरिरहेको जनाएको छ।















