४ असोज, जनकपुर । मधेश प्रदेश सरकारले हालै सम्पन्न जेनजी आन्दोलनका क्रममा शहादत प्राप्त गरेका शहीद परिवारलाई राहतस्वरूप प्रतिपरिवार रु दुई लाख ५० हजार प्रदान गर्ने निर्णय गरेको छ।
प्रदेश सरकारका मुख्यमन्त्री सतीशकुमार सिंहका अनुसार बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले आन्दोलनका क्रममा सर्वोच्च बलिदान दिने शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै सो राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो। बैठकले आन्दोलनमा शहीद भएका व्यक्तिहरू मधेश प्रदेशभित्र स्थायी बसोवास गर्ने परिवारका हकमा प्रतिपरिवार राहतको व्यवस्था मिलाइने स्पष्ट पारेको छ।
त्यसैगरी, मन्त्रिपरिषद्ले आन्दोलनका क्रममा घाइते भएकाहरूप्रति शीघ्र स्वास्थ्यलाभको शुभकामना व्यक्त गर्दै उनीहरूको प्रभावकारी उपचार सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको जनाएको छ। घाइतेहरूको उपचार खर्चका लागि आवश्यक प्रबन्ध तत्काल मिलाइने पनि निर्णयमा उल्लेख गरिएको छ।
बैठकले जेनजी आन्दोलन मूलतः सुशासन र भ्रष्टाचार नियन्त्रणको मागसहित शान्तिपूर्ण ढंगले अघि बढाइएको भए पनि त्यसमा घुसपैठ गरी सरकारी तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी र क्षति पुर्याउने गतिविधि भएको उल्लेख गर्दै दोषी पहिचान गरी कानुनी कारबाही अघि बढाउन निर्देशन दिएको छ।
मुख्यमन्त्री सिंहले मन्त्रिपरिषद् बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै भने, “जेनजी पुस्ताले अघि सारेका माग र प्रश्नहरूको समाधान वर्तमान संविधानको दायराभित्रै रहेर खोजिनुपर्छ भन्नेमा हामी स्पष्ट छौँ। यसलाई दीर्घकालीन समाधानका दिशामा लैजान प्रदेश सरकार आवश्यक पहल गर्नेछ।”
यसअघि जेनजी आन्दोलनका क्रममा मधेश प्रदेशका विभिन्न जिल्लामा भौतिक क्षति र जनधनको ठूलो नोक्सानी भएको थियो। आन्दोलन शान्तिपूर्ण रूपमा अघि बढाइएका भए पनि विभिन्न समूहको संलग्नताले आन्दोलन हिंसात्मक बनेपछि ठूलो असर पर्न पुगेको प्रशासनिक प्रतिवेदनले देखाएको छ।
मधेश प्रदेश सरकारले आन्दोलनमा उठाइएका मागहरूप्रति संवेदनशीलता देखाउँदै शहीद परिवार र घाइतेप्रति जिम्मेवारी पूरा गर्ने मात्र नभई भविष्यमा यस्ता आन्दोलनका मागलाई संवैधानिक तरिकाले सम्बोधन गर्नुपर्ने निष्कर्ष समेत बैठकले निकालेको छ।















