४ असोज, काठमाडौं । भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका कारण उत्पन्न परिस्थितिलाई देखाउँदै भारतले आफ्ना नागरिकका लागि नेपाल यात्रासम्बन्धी ट्राभल एडभाइजरी जारी गरेको छ।
नेपालस्थित भारतीय दूतावासले अवस्था सामान्यतर्फ फर्किएको भए पनि नेपाल यात्रा गर्ने भारतीय नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ। दूतावासद्वारा सार्वजनिक गरिएको एडभाइजरीमा भनिएको छ, “गत केही हप्ताको तुलनामा नेपालमा स्थिति सुध्रिएको छ। सडकमार्ग हुँदै आवागमन र उडानहरू नियमित रूपमा चलिरहेका छन्। यद्यपि, नेपाल यात्रा गर्ने भारतीय नागरिकहरूले सतर्कता अपनाउन र भारतीय दूतावास वा स्थानीय प्रशासनले जारी गर्ने एडभाइजरीको पालना गर्न सुझाव दिइन्छ।”
दूतावासले आफ्ना नागरिकलाई आपतकालीन अवस्थामा सहज रूपमा सम्पर्क गर्न सकिने हेल्पलाइन नम्बर, इमेल र अन्य संचार माध्यमहरू समेत उपलब्ध गराएको छ। साथै, कुनै पनि समस्या आएमा दूतावाससँग सम्पर्क गर्न पनि आग्रह गरिएको छ।
गत महिनाको आन्दोलनका कारण केही समय सार्वजनिक सेवा, यातायात र सामान्य जनजीवन प्रभावित भए पनि हाल स्थिति नियन्त्रणमा आएको नेपाली सुरक्षा निकायले जनाएको छ। तथापि, दूतावासले सतर्कता अपनाउन भनेको छ, ताकि भारतीय नागरिकहरूलाई कुनै असुविधा नपरोस्।
















