Logo

५ असोज,वीरगञ्ज । वीरगञ्जको ऐतिहासिक शक्तिपीठ गहवामाई मन्दिरमा भोलिदेखि सुरु हुने बडादसैँका लागि भव्य तयारी पूरा भएको छ। मन्दिरलाई आकर्षक रूपमा सजाइएको छ र घटस्थापनासँगै दर्शनार्थीको ठूलो भीड लाग्ने अनुमान गरिएको छ।

माइस्थान सञ्चालक समितिले दर्शनार्थीको सुविधा र सुरक्षालाई मध्यनजर गर्दै विशेष व्यवस्था गरेको छ। भीड व्यवस्थापनका लागि सीसीटीभी क्यामेरा जडान गरिएको छ भने नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्वयंसेवकहरू खटाइएको छ। सुरक्षा व्यवस्थालाई थप बलियो बनाउन ड्रोनमार्फत पनि निगरानी गर्ने तयारी गरिएको छ।

सुरक्षा र व्यवस्थापनमा सहजता ल्याउन मन्दिर परिसरभित्र मोबाइल फोनको प्रयोग, टिकटक बनाउने, तस्बिर र भिडियो खिच्न पूर्ण प्रतिबन्ध लगाइएको छ। समितिका अध्यक्ष नरेन्द्र साहले दर्शनार्थीहरूलाई महँगा गरगहना नलगाउन, बालबालिकाको विशेष ख्याल राख्न र कुनै समस्या परेमा समितिमा सम्पर्क गर्न आग्रह गरेका छन्।

दसैँको अवसरमा गहवामाई मन्दिरमा लाग्ने मेलामा पर्सा, बारा, रौतहट, मकवानपुर, चितवन लगायत नेपालका विभिन्न जिल्ला र भारतको बिहार तथा उत्तर प्रदेशबाट समेत भक्तजनहरू आउने गर्छन्। विशेषगरी फूलपातीदेखि नवमीसम्म मेला निकै रमाइलो हुने गर्छ। परम्परा अनुसार अष्टमीको दिन परेवा, खसी र बोकाको बलि दिने चलन रहेको छ।

इतिहासकारहरूका अनुसार, यो मन्दिरमा सयौँ वर्षदेखि बडादसैँको अवसरमा मेला लाग्दै आएको छ, जसले यस क्षेत्रको सांस्कृतिक महत्त्वलाई झल्काउँछ।


सम्बन्धित समाचार
भर्खरै