६ असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सिफारिस गरेका पाँच मन्त्रीको शपथ ग्रहण कार्यक्रम आज दिउँसो २ बजे हुने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासका अनुसार नेपाल संविधानको धारा ८० बमोजिम प्रधानमन्त्रीको सिफारिसमा नियुक्त मन्त्रीहरूले राष्ट्रपतिबाट पद तथा गोपनियताको शपथ ग्रहण गर्ने संवैधानिक प्रावधानअनुसार आजै शपथको व्यवस्था मिलाइएको हो।
प्रधानमन्त्री कार्कीले हिजो सिफारिस गरेका मन्त्रीहरूमध्ये पूर्वन्यायाधीश अनिलकुमार सिन्हालाई उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय, भूमि सुधार, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी सुम्पिने प्रस्ताव गरिएको छ। पत्रकार जगदीश खरेललाई सञ्चार मन्त्रालय, अतिरिक्त सचिव डा. संगीता मिश्रालाई स्वास्थ्य मन्त्रालय, आविष्कारक तथा वैज्ञानिक महावीर पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र तत्कालीन राज्य पुनर्संरचना समितिका संयोजक मदन परियारलाई कृषि मन्त्रालयको जिम्मेवारी दिइने प्रस्ताव गरिएको छ।
शपथ ग्रहणको तयारीबारे राष्ट्रपति कार्यालयले आवश्यक प्रक्रिया पूरा गरिएको जानकारी दिएको छ। संवैधानिक प्रावधानअनुसार मन्त्रिपरिषद्का सदस्यहरूले पदभार ग्रहण गर्नुअघि राष्ट्रपति समक्ष पद तथा गोपनियताको शपथ लिनुपर्ने व्यवस्था छ।
जेन–जी आन्दोलनपश्चात् बनेको अन्तरिम सरकारलाई पूर्णता दिने क्रममा मन्त्रिपरिषद् विस्तारको प्रक्रिया अघि बढेको हो। यसअघि प्रधानमन्त्री कार्कीले सरकार गठनको तेस्रो दिनमा रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याललाई मन्त्रीमा नियुक्त गरिसकेकी थिइन्।
सरकारले समावेशीता, क्षमता र नवीन दृष्टिकोणलाई प्राथमिकता दिँदै विभिन्न पेशा तथा क्षेत्रका विज्ञलाई मन्त्रिपरिषद्मा समेट्ने प्रयास गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यससँगै सरकारले स्थिरता, सुशासन र पुनर्निर्माणका दिशामा ठोस कदम चाल्ने अपेक्षा गरिएको छ।















