७ असोज, वीरगञ्ज। आश्विन शुक्ल द्वितीया तिथि अर्थात् नवरात्रको दोस्रो दिन आज देशभर ब्रह्मचारिणी देवीको विशेष पूजा आराधना भइरहेको छ। दसैँ घर वा पूजा कोठामा वैदिक विधिअनुसार घटस्थापना गरिएको स्थलमा आज नौ दुर्गामध्येकी दोस्रो देवीलाई आह्वान गरी श्रद्धापूर्वक पूजाअर्चना गर्ने परम्परा रहिआएको छ।
यसअघि सोमबार नवरात्रको पहिलो दिन घटस्थापना गरी जमरा राखिएको थियो। सोही दिन शैलपुत्री देवीको आह्वानसहित पूजा आराधना गरिएको थियो। परम्पराअनुसार नवरात्रभर घटस्थापनास्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत स्तोत्र पाठ गरिन्छ। धार्मिक विश्वासअनुसार, यसरी नौ दिनसम्म देवीको विधिपूर्वक आराधना गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने मान्यता छ।
नवरात्रका अवसरमा पूजाअर्चनाबाट प्राप्त प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म प्रयोग गर्ने परम्परा रहिआएको छ। विशेषगरी वैदिक सनातन धर्मावलम्बीका लागि यो पर्व देवी आराधना, शक्ति प्राप्ति र आध्यात्मिक साधनासँग सम्बन्धित छ।
धार्मिक ग्रन्थअनुसार संसारका मुमुक्षु प्राणीलाई सच्चिदानन्द स्वरूप ब्रह्मको बोध गराउन निरन्तर साधनामा लीन हुने भएकाले नवदुर्गामध्येकी दोस्रो देवीलाई ‘ब्रह्मचारिणी’ भनिएको हो। ब्रह्मचारिणी देवीको हातमा कमल, अक्षमाला र कमण्डलु हुने विधान छ, जसले साधना, संयम र आध्यात्मिक मार्गप्रतिको समर्पणको प्रतीक मानिन्छ।
यसैबीच, नवरात्र आरम्भसँगै देशभरका शक्तिपीठहरूमा भक्तजनको ठूलो भीड देखिएको छ। सोमबारदेखि नै मन्दिर र देवीस्थानमा दर्शन तथा पूजाआजाका लागि भक्तजनको घुइँचो लागिरहेको छ। वीरगञ्जको गहवामाई, राजधानी काठमाडौँसहित गोरखा, ललितपुर, भक्तपुर, धनुषा, कञ्चनपुरलगायत जिल्लाका शक्तिपीठहरूमा भक्तजनको चहलपहल बढेको धार्मिक समितिहरूले जनाएका छन्।















