Logo

८ असोज, चितवन । चितवनको तुइनखोलामा खसेको ठूलो सुक्खा पहिरोका कारण मुग्लिन–नारायणगढ सडकखण्ड पूर्ण रूपमा बन्द भएको छ। हिजो दिउँसो खसेको पहिरोले सडक अवरुद्ध पारेकोमा बेलुकी थप पहिरो खस्दा बाटो खुलाउन अझै धेरै समय लाग्ने भएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ।

सडक तत्काल नखुल्ने भएपछि प्रशासनले यात्रुहरूलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालय चितवनले महोत्तरीको बर्दिवास, मकवानपुरको हेटौंडा, रुपन्देहीको बुटवल, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती र गैँडाकोट, धादिङको नौबिसे तथा तनहुँको खैरेनीटार हुँदै वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको हो।

चितवनबाट काठमाडौं आउजाउ गर्न साना गाडीका लागि जुटपानी–शक्तिखोर–मायाटार हुँदै धादिङको मलेखु निस्कने बाटो प्रयोग गर्न सकिने जनाइएको छ। त्यस्तै, धादिङको नौबिसेबाट मकवानपुरको हेटौंडा निस्कने त्रिभुवन राजपथलाई वैकल्पिक मार्गको रूपमा प्रयोग गर्न सकिनेछ।

मकवानपुरको हेटौंडाबाट भैंसे–भीमफेदी–कुलेखानी–सिस्नेरी हुँदै दक्षिणकाली प्रवेश गरेर काठमाडौं पुग्न सकिन्छ। हेटौंडा–काठमाडौं बीच ठूला सवारीका लागि कान्ति लोकपथ प्रयोग गर्न सकिने प्रशासनले जनाएको छ।

चितवनबाट पोखरा जान ठूला तथा साना दुवै गाडी बुटवल हुँदै पोखरा पुग्न सक्नेछन्। त्यस्तै, चितवनबाट कालीगण्डकी करिडोरको बाटो (सानो गाडीका लागि) प्रयोग गरी गैँडाकोट–भीमाद हुँदै तनहुँ पुग्न सकिने व्यवस्था छ।

मुग्लिन–नारायणगढ सडकखण्डमा तुइनखोलामा खस्ने निरन्तर पहिरोका कारण यात्रु र चालकले दैनिकजसो सास्ती भोग्नुपरेको छ। सडकमा लगातार ढुङ्गा खसिरहेकाले नियमित गाडी सञ्चालनमा समस्या आएको छ।

सडक डिभिजन कार्यालय भरतपुर, चितवनले आज बिहानदेखि पहिरो हटाउने प्रयास थालिएको भए पनि ढुङ्गा ठूलो मात्रामा खसेकाले सडक खुलाउन समय लाग्ने जनाएको छ।


सम्बन्धित समाचार