Logo

८ असोज, वीरगञ्ज । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वीरगञ्ज नाकाबाट रु सात अर्ब १६ लाख मूल्यबराबरका सवारीसाधन तथा पार्टपुर्जा आयात भएका छन् ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष रु एक अर्ब ७५ करोड बढी मूल्यका सवारीसाधन र पार्टपुर्जा आयात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । कार्यालयका अनुसार गत वर्षको पहिलो दुई महिनामा रु पाँच अर्ब २५ करोड बराबरका सवारीसाधन तथा पार्टपुर्जा आयात भएका थिए ।

कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालु आवमा वीरगञ्ज नाकाबाट सवारीसाधनको आयात उत्साहजनक रुपमा बढेको बताए।

गत आवको पहिलो दुई महिनामा सवारीसाधन आयातबाट रु चार अर्ब ४७ करोड ७६ लाख राजस्व संकलन भएको थियो। चालु आवको सोही अवधिमा भने सवारीसाधन आयातमार्फत रु छ अर्ब १३ करोड ९२ लाख राजस्व संकलन भएको छ ।

भन्सार कार्यालयका तथ्याङ्कअनुसार चालु आवको पहिलो दुई महिनामा रु ४३ करोड ५२ लाख मूल्यका १ सय ७८ वटा जीप, कार र भ्यान आयात भए । गत वर्ष सोही अवधिमा रु ५१ करोड ६२ लाख मूल्यका २ सय ९५ वटा जीप, कार र भ्यान आयात भएका थिए ।

रु दुई अर्ब ७९ करोड मूल्यका २० हजार ६२० वटा अनअसेम्बल्ड मोटरसाइकल आयात भए । गत वर्ष सोही अवधिमा रु एक अर्ब ८५ करोड मूल्यका १४ हजार ७६६ वटा मोटरसाइकल आयात भएका थिए । रु ६६ करोड ४३ लाख मूल्यका ३ सय १८ वटा अन्य बस तथा ट्रकका चेसिस आयात भएका छन् ।

सवारीसाधन र पार्टपुर्जाको आयातमा यो वर्ष प्रारम्भिक दुई महिनामै उल्लेख्य वृद्धिले आन्तरिक बजारमा माग बढेको संकेत दिएको छ। भन्सार कार्यालयले यो प्रवृत्ति आगामी महिनामा पनि निरन्तर रहने अनुमान गरेको छ।


सम्बन्धित समाचार
भर्खरै