Logo

८ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता (नगद प्रवाहं) नियन्त्रण गर्न आज (असोज ८ गते, बुधबार) ४० अर्ब रुपैयाँ बजारबाट उठाउने भएको छ ।

केन्द्रीय बैंकले ४ दिने निक्षेप संकलन उपकरण जारी गरेर यो रकम झिक्न लागेको हो । आज दिउँसो ३ बजे अनलाइन बोलकबोल मार्फत यसको प्रक्रिया सुरु हुनेछ। राष्ट्र बैंकका अनुसार, ‘क’, ‘ख’, र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले मात्र यसमा सहभागी हुन पाउनेछन् । यो उपकरणको साँवा र ब्याज भुक्तानी आगामी असोज १२ गते हुनेछ, जसबाट बजारमा तरलता पुनः फर्किनेछ।

लगातार तरलता व्यवस्थापनको प्रयास

बैंकिङ प्रणालीमा तरलताको चाप बढ्दै गएपछि राष्ट्र बैंकले पछिल्लो समय लगातार रकम झिक्दै आएको छ । यसअघि, असोज २ गते ९० अर्ब रुपैयाँ, असोज ५ गते ७० अर्ब रुपैयाँ, र आज ४० अर्ब रुपैयाँ गरी कुल २०० अर्ब रुपैयाँ तरलता खिच्ने तयारीमा केन्द्रीय बैंक लागेको छ ।

निक्षेप संकलन उपकरणमा सहभागी हुन चाहने बैंकहरूले घटीमा १० करोड रुपैयाँ र बढीमा कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। यसको ब्याजदर बोलकबोल प्रक्रियाबाटै निर्धारण हुनेछ । यो कदमले बजारमा रहेको नगद प्रवाहलाई सन्तुलित बनाउन र वित्तीय प्रणालीमा स्थिरता कायम गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।

 

 

 

 


सम्बन्धित समाचार
भर्खरै