१२ असोज,वीरगञ्ज । बाराको आदर्शकोतवाल गाउँपालिका–१ स्थित बोहा जमुनियास्थित सडकखण्डबाट सशस्त्र प्रहरीले करीब १६ लाख रुपैयाँ बराबरको अवैध कपडा र पटका सहित एक पिकअप गाडी बरामद गरेको छ।
सशस्त्र प्रहरी बेस क्याम्प तेलकुवाबाट सशस्त्र प्रहरी नायब निरीक्षक संजयकुमार यादवको नेतृत्वमा खटिएको टोलीले कोतवालीबाट लंगडा चोकतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२५ च ६१७६ नम्बरको पिकअप गाडीलाई शनिबार नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर केसीका अनुसार, उक्त गाडीमा कुनै बिल/बिजक नभएको १५ लाख ८५ हजार ५०० रुपैयाँ बराबरको लेडिज रेडिमेड कपडा र ५० हजार रुपैयाँ मूल्य बराबरको ६० बन्डल नागिन पटका लोड गरिएको थियो।
बरामद गाडीको अनुमानित मूल्य २० लाख रुपैयाँ रहेको समेत उपरीक्षक केसीले जानकारी दिए। उनका अनुसार, बरामद कपडा र गाडी आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाइनेछ भने बरामद पटका खाल्डो खनेर नष्ट गरिएको छ।
सशस्त्र प्रहरीले सीमा क्षेत्र हुँदै हुने अवैध सामानको ओसारपसार नियन्त्रण गर्न निगरानी र चेकजाँच अभियानलाई अझ कडा बनाएको जनाएको छ।


















