Logo

२९ फागुन, वीरगञ्ज । पर्सा र सिरहामा भएको जातिय छुवाछुतको विभेद विरुद्ध वीरगञ्जमा प्रदर्शन गरिएको छ । वीरगञ्ज महानगरपालिका–१७ अलौंमा लगाउन लागिएको शतचण्डी महायज्ञको नाममा विभेद गर्न खोजिएको भन्दै दलित समुदायले प्रदर्शन गरेका हुन् ।

पुजा समितिले दलित समुदायलाई पुजामा बस्न नदिने भनेर छुवाछुतको विभेद गरेको उनीहरुको भनाई छ । प्रदर्शनमा सहभागीले दलितले मन्दिरमा जान मिल्दैन ? हिन्दु भएर हिन्दुकै शोषण, दलित समुदायसँग अत्याचार, हिन्दु भएर हिन्दुसँग भेदभाव, दलितले मन्दिरमा पुजा गर्न मिल्दैन ।

भेदभाव गर्न पाईदैन । लगायतका नारा लेखिएको प्ले कार्ड बोकेका थिए । प्रदर्शनमा सहभागी खुबलाल महराले पुजामा बस्न नदिने भनेपछि विरोध प्रदर्शनमा उत्रिएको बताए । गाउँमा समस्या समाधान नहुने देखेपछि जिल्ला प्रशासन कार्यालय पर्सामा न्याय माग्न आएको उनले बताए ।

पुजाका लागि रमेश चौधरीको संयोजकत्वमा ३५ सदस्यीय समिति बनाईएको छ । समितिमा शुरुमा दलित समुदायको समेत नाम राखिएकोमा पछि हटाईएको गुनासो दलित समुदायको छ । अलौंका कृष्णा रामले दलितलाई महायज्ञमा बस्न नदिनु कानुन विपरितको कार्य भएको बताउनुभयो । विगतमा पनि गाउँमा यज्ञ हुँदा दलित समुदायलाई बस्न नदिएको तितो अनुभव उहाँको छ ।

चैत ८ गतेदेखि १७ सम्म चल्ने यज्ञलाई परम्परागत रुपमै सञ्चालन गर्न खोजिएको पुजा समितिका सदस्यहरुले बताएका छन् । समितिका सदस्य एवं मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद चौधरीले परम्परा अनुसार पुजा गरौं भनेर आग्रह गरिएको बताउनुभयो । गाउँ समाजले गरेको निर्णयलाई आफूहरुले मान्ने उहाँको भनाई छ ।

यसैबीच गाउँलेले यज्ञमा सहभागी हुन नदिने भनेर विभेद गरेको भन्दै दलित समुदायले जिल्ला प्रशासन कार्यालय पर्सामा लिखित निवेदन समेत दिएका छन् । सम्पूर्ण गाउँलेको सहयोगमा चैत ८ गतेदेखि गाउँमा आयोजना गर्न लागिएको सप्तचण्डी महायज्ञमा विपक्षीहरु एकजुट भई दलित तथा जातिय विभेद गरी दलितलाई यज्ञमा सहभागी नगर्ने भनी छुवाछुतको भेदभाव गरेको गुनासो गरिएको छ ।

छुवाछुतको भेदभाव गरेर हामीलाई बहिस्कार गर्नु कानुन विपरितको कार्य भएको र मौलिक अधिकार हनन भएको उनीहरुको भनाई छ । विपक्षीलाई झिकाएर छुवाछुत भेदभाव गरे वापत नियमानुसार कारबाही गर्नुपर्ने माग उनीहरुले गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले दलित समुदायको निवदेन आएको पुष्टी गर्नुभयो । उहाँले घटना के भएको हो ? भनेर बुझ्न पुजा समितिका अध्यक्ष तथा सदस्यहरुलाई भोलि प्रशासन कार्यालयमा आउन भनिएको बताउनुभयो ।

त्यसैगरि सिराहामा दलितसँग गरिएको छुवाछुतको विरोधमा वीरगञ्जमा प्रदर्शन गरिएको छ । पिसफोर दलितस फाउन्डेशन नेपालको अगुवाइमा सोमबार वीरगञ्जमा विरोध प्रदर्शन गरिएको हो ।

सिरहाको भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवले फगुन २१ गते आफ्नो आमाको १३ औँ दिनको पुण्यतिथिमा आयोजना गरेको भोजमा दलित र गैर दलितलाई छुट्टाछुट्टै राखेर खाना खुवाएका थिए ।

दलित समुदायले निकालेको विरोध जुलुशले वीरगञ्ज नगरको परिरक्रममा गरेको थियो । उनीहरुले जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर ज्ञापन–पत्र पनि बुझाएका छन् । पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापन–पत्रमा उनीहरुले दलितसँग छुवाछुत र जातीय विभेद गर्ने गाँउपालिका अध्यक्ष यादवलाई पदबाट निलम्बन गरि हदैसम्मको कानुनी कारबाही गर्न माग गरिएको छ ।

साथै भोजमा सहभागी भएर जातीय विभेद र छुवाछुतको कुप्रथालाई प्रश्रय दिने सार्वजनिक पदधारण गरेका व्याक्तिहरुले सार्वजनिक रुपमा माफी माग्नु पर्ने माग पनि उल्लेख छ ।

गाँउपालिका अध्यक्ष यादवले भोजमा प्लेकार्ड नै टाँसेर गैरदलित, मुस्लिम र दलितलाई अलग अलग खाने ठाउँ छुट्टयाएर जातीय भेदभाव गरेर अपराध गरेकाले कारबाहीको माग गर्दै प्रदर्शन गरिएको फिस फर दलित फाउण्डेशन पर्साका अध्यक्ष मनोज रामले बताए ।

दलितसँग गरिएको छुवाछुतको अपराधमा संलग्न व्यक्तिहरुलाई तत्काल कानुनी दायरामा ल्याएर कारवाही नगरे देशभरकै दलित समुदाय अझ सशक्त आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी उनले दिए ।

संविधानले छुवाछूतलाई कानुनी रूपमा दण्डनीय अपराध मानेको भएपनि नेपालका दलित समुदायले कुनै न कुनै रूपमा दैनिक छुवाछूत जस्तो अपमान सहन बाध्य भईरहेको फाउण्डेशनका सचिव दिपेन्द्र रामले बताउनुभयो ।


सम्बन्धित समाचार