२५ असोज, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले आजदेखि राजधानी क्षेत्रमा र्याली, जुलुस, सभा र प्रदर्शनजस्ता गतिविधि सञ्चालन गर्न निषेध गरेको छ। विभिन्न समूहहरूले आयोजना गर्न लागेको भनिएका मोटरसाइकल र्याली तथा सभा–प्रदर्शनहरूलाई रोक लगाइएको प्रशासनले जनाएको हो।
प्रशासनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “विभिन्न समूहहरूबाट हुने भनिएका र्याली, जुलुस, धर्ना, सभा र प्रदर्शनजस्ता गतिविधिहरूले सुरक्षा चुनौती बढाउन सक्ने र आम नागरिकलाई सुरक्षाको प्रत्याभूति दिन थप जटिलता सिर्जना गर्न सक्ने भएकाले, यस कार्यालयबाट त्यस प्रकारका कुनै पनि कार्यक्रम गर्न कोही कसैलाई पनि स्वीकृति प्रदान नगर्ने निर्णय गरिएको छ।”
गत भदौ २३ गतेको ‘जेनजी आन्दोलन’ पछिका दिनहरूमा भएको तोडफोड, आगजनी र सार्वजनिक तथा निजी सम्पत्तिमा पुगेको क्षतिको घटनाको स्मरण गर्दै प्रशासनले शान्ति–सुरक्षा कायम राख्ने, सार्वजनिक सम्पत्ति जोगाउने र सेवा प्रवाहलाई सुचारु राख्ने कार्यमा केन्द्रित रहेको जनाएको छ।
प्रशासनले थप स्पष्ट पार्दै भनेको छ, “सुरक्षा चुनौती र जनसुरक्षामा असर पर्ने गतिविधि हुन नदिनका लागि यस कार्यालयले आवश्यक तयारी गरेको छ।”
यस किसिमको निर्णय स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) र प्रहरी ऐन, २०१२ को दफा १९ बमोजिम गरिएको हो।
काठमाडौँ प्रशासनले यसअघि पनि संवेदनशील राजनीतिक परिस्थिति वा भीड व्यवस्थापन चुनौती हुने अनुमान भएका बेला यस्तै प्रतिबन्धात्मक आदेशहरू जारी गर्दै आएको छ। प्रशासनले सर्वसाधारणलाई सामाजिक सद्भाव र सार्वजनिक सुरक्षा कायम राख्न सहयोग पुर्याउन आग्रह गरेको छ।
















