२६ असोज, काठमाडौं । जेन–जी आन्दोलनको मौका छोपेर देशभरका कारागारबाट भागेका करिब ५ हजार कैदीबन्दी अझै फरार रहेकाले समाजमा ठूलो त्रास र सुरक्षा चुनौती बढेको छ । फरार कैदीबन्दीमध्ये केही व्यक्तिहरूले बाहिर आएर पुनः हत्या र चोरी जस्ता जघन्य अपराधमा संलग्न भएपछि प्रहरी अधिकारीहरू समेत चिन्तित बनेका छन् ।
फरार कतिपय कैदीबन्दीहरू धमाधम फेरी आपराधिक गतिविधिमा संलग्न भएको भेटिएको छ । केही समय अघि मात्रै ललितपुरस्थित नख्खु कारागारबाट भागेका सन्तबहादुर तामाङले परपुरुषसँग सम्बन्ध रहेको आरोप लगाउँदै आफ्नी श्रीमती जमुना तामाङको कुटपिट गरी हत्या गरेका थिए । असोज २ गते रातीको घटनापछि उनी नख्खु कारागारमा आफैँ उपस्थित भएका थिए । उनी यसअघि जबरजस्ती करणी मुद्दामा जेल परेका थिए ।
नख्खु कारागारबाटै भागेका आकाश मगरले काठमाडौंको मनमैजुमा असोज १३ गते सुरज तामाङको खुकुरी प्रहार गरी हत्या गरेका थिए । त्यसअघि उनी लुटपाट तथा डकैती मुद्दामा जेल परेका थिए । यस्तै, महोत्तरीको जलेश्वर कारागारबाट भागेका सञ्जय महतो र मञ्जुर राइन चोरीका सामग्रीसहित पक्राउ परेका छन् । यसअघि उनीहरु चोरी तथा डाँका गरेको कसुरमा जेलमा थिए ।
दाङको तुलसीपुर कारागारबाट भागेका खिमबहादुर विकले असोज ११ गते राति स्थानीय गौतम सार्कीलाई खुकुरी प्रहार गरेपछि पक्राउ परेका थिए । उनी कर्तव्य ज्यान मुद्दामा २५ वर्षे कैद सजाय भोगिरहेका थिए ।















