२६ असोज, काठमाडौं । सरकारले विशिष्ट तथा अतिविशिष्ट व्यक्ति (भीआईपी/भीभीआईपी) हरूको सुरक्षा व्यवस्थापनमा कडाइ गर्दै मापदण्ड विपरीत खटिएका २७१ सुरक्षाकर्मी फिर्ता गरेको छ ।
गत असोज २३ गते गृहमन्त्रीस्तरीय निर्णय अनुसार यो प्रक्रिया सुरु गरिएको थियो । गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेका अनुसार फिर्ता गरिएका सुरक्षाकर्मीहरूमध्ये नेपाल प्रहरीका १७४ जना र सशस्त्र प्रहरीका ७४ जना रहेका छन् । पूर्वप्रधानमन्त्रीहरूलाई १६ जना सशस्त्र प्रहरी र २ जना नेपाल प्रहरी सुरक्षाका लागि खटाउनुपर्ने प्रावधान छ । तर, मापदण्डको उल्लंघन गर्दै पूर्वप्रधानमन्त्रीहरू तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु र एमाले अध्यक्ष केपी शर्मा ओलीले तोकिएको भन्दा दोब्बरभन्दा बढी सुरक्षाकर्मी राखेको पाइएको थियो ।
यी दुई नेतासहित अन्य पूर्वविशिष्ट व्यक्ति तथा बहालवाला विशिष्ट व्यक्तिहरूले मापदण्ड विपरित राखेका सुरक्षाकर्मीहरूलाई अहिले फिर्ता गरिएको हो । फिर्ता भएका सबै सुरक्षाकर्मीहरू अब संगठनले तोकेको नियमित ड्युटीमा खटिने गृह मन्त्रालयले जनाएको छ।















