२७ असोज, काठमाडौं । नेपाल प्रहरीका पूर्व एआईजी देवेन्द्र सुवेदी यतिबेला साइबर अपराधको जाहेरीमा तानिएका छन् ।
नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले उनीविरुद्ध आइतबार साइबर ब्युरोमा औपचारिक उजुरी दर्ता गराएको हो । सचिवालयका संयोजक गोविन्द आचार्यले सुवेदीको दाबीले नेता प्रचण्डको चरित्रहत्या गरेको र जनमानसमा भ्रम फैलाएको भन्दै जाहेरी दिएका छन् ।
दुई करोड र दुई ट्रकको दाबीले लियो कानुनी मोड
पूर्वएआईजी सुवेदीले हालै एक सार्वजनिक दाबी गरेका थिए— ‘जेनजी आन्दोलन सुरु हुनुभन्दा दुई दिनअघि प्रचण्डको निवासबाट दुई करोड रुपैयाँ दुई ट्रकमा राखेर निकालिएको थियो।’ यही अपुष्ट र विवादास्पद अभिव्यक्तिलाई प्रचण्डको सचिवालयले गम्भीर रूपमा लिँदै साइबर अपराध ऐन अन्तर्गत कानुनी उपचार खोजेको हो । आचार्यका अनुसार, यो जाहेरी चरित्रहत्या र झुटा अफवाह फैलाएको कसुरमा आधारित छ ।
यो घटनाले राजनीतिज्ञ र सार्वजनिक पदमा रहेका व्यक्तिहरूका बारेमा गरिने टिकाटिप्पणी तथा सामाजिक सञ्जालमा गरिने दाबीहरूले अब कानुनी चुनौती सामना गर्नुपर्ने अवस्था सिर्जना गरेको छ ।















