२७ असोज, काठमाडौं । टोखाबाट २५ करोड रुपैयाँभन्दा बढी विदेशी मुद्रासहित पक्राउ परेका ट्रक चालक कुसाङ लामा केन्द्रीय कारागार जगन्नाथदेवलबाट भागेका छन् ।
गम्भीर आर्थिक अपराधमा संलग्न व्यक्ति कारागारबाट फरार हुनुले कारागार व्यवस्थापनको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न खडा गरेको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ घर भएका र फुच्चे उपनामले चिनिने लामा भदौ २४ गतेको राति केन्द्रीय कारागारबाट भागेको खुलेको छ । सोही अवधिमा देशैभर चलेको जेन–जी आन्दोलनका कारण उत्पन्न अस्तव्यस्तताको आड लिएर उनी फरार भएको आशङ्का गरिएको छ ।
फरार भएको एक महिनाभन्दा बढी समय बितिसक्दा पनि लामालाई अहिलेसम्म न पक्राउ गर्न सकिएको छ न उनी कारागार फर्केका छन्। कारागार व्यवस्थापन विभागले आइतबार सार्वजनिक गरेको फरार कैदीहरूको सूचीमा लामाको नाम पनि समावेश छ ।
लामाको पृष्ठभूमि आपराधिक घटनाहरूले भरिएको छ। उनी ४ चैत २०८१ मा टोखाबाट २५ करोड १९ लाख २४ हजार ९५० नेपाली रुपैयाँ बराबरको युरो र डलरसहित ना ७ ख १६५२ नम्बरको ट्रकबाट पक्राउ परेका थिए । उनी विदेशी विनिमय ९नियमित गर्ने० ऐन २०१९ अन्तर्गतको कसुरमा पुर्पक्षका लागि कारागार चलान भएका थिए ।
यस काण्डमा रकमका मालिक भनिएका नारायण पौडेल भने पछि अदालतमा उपस्थित भएर ३५ लाख धरौटी बुझाएर रिहा भइसकेका छन् । स्मरण रहोस्, लामा यसअघि पनि १३ पुस २०७३ मा ७ किलो सुनसहित पक्राउ परेका व्यक्ति हुन् । उक्त प्रकरणमा उनी पाँच वर्ष जेल बसेर २०७८ सालमा छुटेका थिए । पटक–पटक ठूला आर्थिक अपराधमा संलग्न व्यक्ति सहजै कारागारबाट भाग्न सफल हुनु र देशैभर करिब साढे ५ हजार कैदीबन्दी अझै पनि फरार सूचीमा हुनुले राज्यको सुरक्षा संयन्त्र र कारागार सुधारको आवश्यकतालाई जोड दिएको छ।















