Logo

उदयपुर। इलामबाट काठमाडौं आउँदै गरेको एउटा निजी कार उदयपुरमा अचानक आगलागी भएर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।

यो घटना सोमबार बिहान उदयपुरगढी गाउँपालिका–७, अधेरीमा भएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका डीएसपी केदारमान दोङले दिएको जानकारीअनुसार, बा ९ च ८६६८ नम्बरको कार गुडिरहेकै अवस्थामा एक्कासि आगो लागेको थियो। आगलागीपछि कार पूर्णरूपमा नष्ट भएको छ।

कारमा सवार परिवारका एक सदस्य, ७ वर्षीय बालक आरोन सेनचुरी, भने सामान्य घाइते भएका छन्। उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगिएको छ। घाइते बालक आरोन कार चालक, इलामको चुलाचुली गाउँपालिका–५ का प्रेमकुमार सेनचुरीका छोरा हुन् ।

आगलागीबाट चालक प्रेमकुमार सेनचुरी, उनकी श्रीमती अनिता सेनचुरी र अर्का छोरा आयुष सेनचुरी भने सकुशल बाहिर निस्कन सफल भएका छन्। प्रहरीले अहिले आगलागीको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।


सम्बन्धित समाचार