Logo

२७ असोज, काठमाडौं । काठमाडौं उपत्यकासहित देशका धेरै जिल्लाहरूमा डेंगु संक्रमणको ग्राफ फेरि उकालो लागेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्याङ्कअनुसार, पछिल्लो एक सातामा मात्रै ४१३ जनामा डेंगु पुष्टि भएको छ । यससँगै सन् २०२५ को सुरुदेखि हालसम्म ५ हजार ८७४ जनामा संक्रमण फैलिसकेको छ भने ७५ जिल्लामा फैलिएको डेंगुका कारण ज्यान गुमाउनेको संख्या ४ पुगेको छ । पछिल्लो साता थपिएका संक्रमितमध्ये गण्डकी प्रदेश सबैभन्दा बढी प्रभावित बनेको छ, जहाँ १५१ जना नयाँ संक्रमित थपिएका छन् । यसैगरी, बागमतीमा १०७, कर्णालीमा ६४, लुम्बिनीमा ३९, सुदूरपश्चिममा ३०, कोशीमा १६ र मधेश प्रदेशमा ६ जनामा संक्रमण पुष्टि भएको छ ।

जनस्वास्थ्यविद्हरूले बढ्दो तापक्रम, अव्यवस्थित शहरीकरण र जलवायु परिवर्तन जस्ता कारणहरूले गर्दा डेंगुको प्रकोप हरेक वर्ष बढ्दै गएको बताएका छन्। यो रोग अब नेपालमा स्थानीय रूपमा फैलिने भएकाले वर्षभरि जोखिम रहिरहने अवस्था सिर्जना भएको छ ।

डेंगुका लक्षणहरूमा सामान्य ज्वरो, टाउको दुख्ने, मांसपेशी दुख्ने र हड्डी भाँचिएको ज्वरोदेखिने भए पनि यसको जटिलता निकै उच्च हुन्छ। ज्वरो घटेको अवस्थादेखि ७२ घण्टासम्मको क्रिटिकल फेजमा विशेष सावधानी अपनाउनुपर्छ, किनकि दोस्रो पटक संक्रमण भएमा आन्द्रामा रक्तस्राव वा प्लाज्मा लिकेज भएर मृत्यु समेत हुन सक्छ । बच्चा, वृद्ध र दीर्घरोग भएका व्यक्तिहरू यसको उच्च जोखिममा छन् ।

डेंगु गराउने एडिस लामखुट्टेहरू पानी जमेका ठाउँहरू जस्तै टायर, गमलाका प्लेट र कन्टेनरहरूमा वृद्धि हुन्छन् । यो लामखुट्टे मानिससँगै घरभित्र बस्न रुचाउने भएकाले झुलको प्रयोग गर्ने, पूरा शरीर ढाक्ने लुगा लगाउने जस्ता व्यक्तिगत सुरक्षाका उपायहरू अपनाउनु आवश्यक छ । यद्यपि, डेंगु नियन्त्रणको सबैभन्दा महत्त्वपूर्ण उपाय भनेको सामुदायिक तहमा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान चलाउनु नै हो, जसले यसको वृद्धि विकासलाई पूरै रोक्छ ।


सम्बन्धित समाचार