Logo

३१ असोज, काठमाडौं ।  बलिउडमा कलाकारहरूको पारिश्रमिक असमानता सम्बन्धी बहसलाई बल दिँदै सुपरस्टार आमिर खानले आफ्नो दृष्टिकोण सार्वजनिक गरेका छन्। एनडीटीभीसँगको एक विशेष अन्तर्वार्तामा उनले पारिश्रमिक निर्धारणमा लिङ्ग नभई कलाकारको पपुल्यारिटी र फिल्मलाई दिने नाफाको भूमिका मुख्य हुने स्पष्ट पारेका छन्।

आमिरले अन्तर्वार्तामा भने, “फिल्ममा नायिकाहरू निकै मेहनत गर्छन्, क्यामराम्यान, लाइट ब्वायलगायत सबैले आफ्नो ठाउँबाट योगदान दिन्छन्। तर पारिश्रमिक सबैको बराबर हुँदैन। यसको कारण हाम्रो पेसा होइन, तर तपाईंले बजारमा कति मूल्य दिन सक्नुहुन्छ भन्ने हो।”

उनले थप प्रस्ट्याउँदै भने, “यदि मैले १० रुपैयाँ पारिश्रमिक पाउँछु भने त्यो मेरो आम्दानी ल्याउने क्षमताका आधारमा हो। यदि रानी मुखर्जीले बढी दर्शक तानेको खण्डमा, उनलाई बढी पारिश्रमिक दिनु स्वाभाविक हो।”

आमिरको यो भनाइले बलिउडमा चलिरहेको पारिश्रमिक असमानता सम्बन्धी बहसलाई नयाँ कोण दिएको छ। उनका अनुसार, फिल्म उद्योगमा पारिश्रमिक बराबरीभन्दा पनि बजारमा कलाकारको माग, लोकप्रियता, र व्यवसायिक प्रभावलाई मूल्यांकन गरी निर्धारण गरिन्छ।

उनको यो अभिव्यक्तिले फिल्म उद्योगभित्रको ‘स्टार भ्यालु’ र व्यावसायिक वास्तविकता बारे दर्शक तथा समीक्षकहरूलाई पुनर्विचार गर्न प्रेरित गर्ने देखिन्छ। पारिश्रमिक असमानताको विषयमा उठ्ने लिङ्ग आधारित बहसको सन्दर्भमा आमिरले प्रस्तुत गरेको ‘मूल्य र नतिजा’ को तर्क अहिले चर्चाको केन्द्रमा छ।


सम्बन्धित समाचार