Logo

२ कात्तिक,वीरगञ्ज । नेपाल पत्रकार महासंघ, बारा शाखाले जिल्ला प्रहरी कार्यालय, बाराका प्रमुख एसपी सन्तोष तामाङको कार्यशैलीप्रति कडा आपत्ति जनाएको छ। महासंघले एसपी तामाङका गतिविधिले जिल्लाको पत्रकारिता क्षेत्र र शान्ति सुव्यवस्थामा गम्भीर असर पारेको बताउँदै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र सूचना तथा सञ्चार मन्त्रालयमा औपचारिक ध्यानाकर्षण पत्र पठाएको छ।

महासंघका अनुसार, एसपी तामाङ शान्ति सुरक्षाको जिम्मेवारी पूरा गर्नुभन्दा अवैध धन आर्जनमा संलग्न रहेको आशंकासहित सार्वजनिक रूपमा सूचनाहरू फैलिरहेका छन्। यस्ता गतिविधिबारे रिपोर्ट लेख्ने पत्रकारहरूलाई अनावश्यक निगरानी, मानसिक यातना र दुश्मनीपूर्ण व्यवहार देखाउने कार्यले जिल्लाको समग्र वातावरणमा असहजता पैदा भएको महासंघको दाबी छ।

महासंघका अध्यक्ष रमेश सुवेदीमाथि गरिएको व्यवहारलाई विशेष उदाहरणका रूपमा उठाइएको छ। तामाङ र तस्करबीचको सम्भावित साँठगाँठबारे लेखिएको समाचारको बदलामा एसपी तामाङले अध्यक्ष सुवेदीलाई दुई दिनसम्म मानसिक यातना दिएको र जाहेरीकर्ताको पक्षमा खुलेर वकालत गरेको महासंघको आरोप छ।

यही घटनाको विरोधस्वरूप बाराका पत्रकारहरूले हालै सम्पन्न ७०औँ प्रहरी दिवस विशेष कार्यक्रममा सहभागी नभइ सांकेतिक विरोधसमेत जनाएका थिए।

महासंघले प्रहरी प्रमुखको दम्भपूर्ण र प्रतिशोधपूर्ण व्यवहारले पत्रकार र सुरक्षाकर्मीबीचको सम्बन्धमा अनावश्यक तिक्तता उत्पन्न गराएको बताउँदै, स्वतन्त्र र निर्भीक पत्रकारिताको वातावरण सुनिश्चित गर्न सम्बन्धित निकायहरूलाई तत्काल आवश्यक कदम चाल्न आग्रह गरेको छ।


सम्बन्धित समाचार