Logo

४ कार्तिक, काठमाडौँ ।  नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले आउँदो २१ फागुनमा तोकिएको निर्वाचनलाई सफल पार्नु नै वर्तमान राजनीतिक कार्यदिशाको प्रमुख आवश्यकता भएको बताएका छन्।

ललितपुरमा मंगलबार तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा आयोजित चियापान कार्यक्रममा बोल्दै पुनले माओवादी केन्द्रले निर्वाचन सफल बनाउन सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

नेता पुनले नेपाली कांग्रेस, नेकपा एमालेसहित सबै राजनीतिक दलहरूलाई पनि निर्वाचनको तयारीमा जुट्न आह्वान गर्दै भने,“संविधानलाई सही बाटोमा लैजान तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नुको विकल्प छैन। हामी चुनावका लागि प्रतिबद्ध छौं र सबै दलले पनि त्यसमा सहयोग गर्नुपर्छ।”

उनले केही दिनअघि माओवादी नेता नारायणकाजी श्रेष्ठसहित प्रधानमन्त्री सुशीला कार्कीसँग भएको भेटमा माओवादी निर्वाचनको पक्षमा रहेको स्पष्ट पारिएको जानकारी समेत दिए।

पुनले भदौ २३ गतेको ‘जेनजी आन्दोलन’लाई जनताको आवाजको स्वाभाविक अभिव्यक्ति भनेका छन्। तर भदौ २४ गते भएको तोडफोड तथा हिंसात्मक घटनालाई बाह्य तत्वको घुसपैठका रूपमा चित्रण गर्दै दोषीहरूको छानबिन गरी कारबाही गर्न सरकारसँग माग गरेका छन्।

उनको भनाइमा, “ओलीको निरंकुशता, स्वेच्छाचारिता र भ्रष्ट चरित्रविरुद्ध जनता सडकमा उत्रिएका हुन्। जनतामा व्यापक असन्तुष्टि छ, र त्यो नयाँ पुस्ताले ‘जेनजी आन्दोलन’को रूपमा अभिव्यक्त गरेको हो।”

पुनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिंहदरबार र बालुवाटार घेर्ने चेतावनी जनताको असन्तुष्टि सन्देश दिनका लागि दिएको स्मरण गराउँदै त्यसलाई विकृत रूपमा प्रस्तुत गरिएको आरोप पनि लगाए।

“प्रचण्डले सिंहदरबार जलाउन भन्नुभएको होइन। जनताको आक्रोश बुझेर सरकार गम्भीर होस् भन्ने आशय थियो,” उनले प्रष्ट पारे।

पुनले माओवादी र अन्य दल एउटै हुन् भन्ने भ्रम फैलाउन खोजिएको उल्लेख गर्दै, सुशासनका मामिलामा माओवादी केन्द्र अन्यभन्दा फरक रहेको दाबी गरे।“प्रचण्ड नेतृत्वको १८ महिनाको सरकारमा सुशासनका पक्षमा भएका कामहरू त्यसको प्रमाण हुन्,” उनले भने।

नेता पुनले विगतका सबै चर्चित भ्रष्टाचार र अनियमितता प्रकरणहरूको छानबिन हुनुपर्ने माग गर्दै माओवादी केन्द्र त्यसका लागि तयार रहेको बताए।“हामी सरकारमा रहँदा पार्टीका नेता, कार्यकर्ता वा समर्थकलाई ढाकछोप गर्ने काम गरेका छैनौं,” पुनले जोड दिए।


सम्बन्धित समाचार
भर्खरै