Logo

४ कात्तिक, काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा चुनावी सुरक्षा र समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक सुरु भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छलफलमा विभिन्न दश राजनीतिक दलका प्रतिनिधिहरू सहभागी छन्। प्रधानमन्त्री कार्कीले प्रधानमन्त्री भएपछि पहिलो पटक राजनीतिक दलहरूसँग सामूहिक छलफल गरेकी हुन्। कार्की जेनजी आन्दोलनको जगमा प्रधानमन्त्री बनेकी हुन्।

आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभाको चुनावको मिति तोकिएको छ। चुनावी सुरक्षाको विषयलाई लिएर राजनीतिक दलहरूले संशय व्यक्त गरिरहेका बेला प्रधानमन्त्री कार्कीले दलहरूसँग संवादको सुरुवात गरेकी हुन्।

खासगरी नेकपा (एमाले) ले आगामी फागुन २१ गते तोकिएको निर्वाचन हुन नसक्ने निष्कर्ष निकाल्दै संसद् पुनर्स्थापनाको माग राखेको छ। यो अवस्थामा प्रधानमन्त्रीको आह्वानमा सर्वदलीय बैठक सुरु भएको हो।

बैठकमा नेपाली कांग्रेसबाट गगन थापा र प्रकाशशरण महत, नेकपा (एमाले) बाट शंकर पोखरेल र प्रदीपकुमार ज्ञवाली, नेकपा (माओवादी केन्द्र) बाट वर्षमान पुन र पम्फा भुसाल सहभागी छन्।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट स्वर्णिम वाग्ले र सोविता गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ, जनता समाजवादी पार्टी (जसपा) नेपालबाट उपेन्द्र यादव र प्रकाश अधिकारी, नेकपा (एकीकृत समाजवादी) बाट राजेन्द्र पाण्डे र प्रकाश ज्वाला सहभागी छन्।

यसका साथै, लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्वेन्द्रनाथ शुक्ल, नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी, नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल र जनमतका नेता चन्दन सिंहसमेत बैठकमा सहभागी छन्।

बैठकमा केदारभक्त माथेमा र विद्याधर मल्लिकलाई पनि पर्यवेक्षकको रुपमा सहभागी हुन आमन्त्रण गरिएको छ।

यसअघि प्रधानमन्त्री कार्की राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको सर्वदलीय बैठकमा भने सहभागी भएकी थिइन्।


सम्बन्धित समाचार
भर्खरै