५ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा ५०० विदेशी नागरिकले नेपालमा काम गर्ने प्रयोजनका लागि श्रम स्वीकृति लिएका छन्। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार असोज मसान्तसम्म नयाँ श्रम स्वीकृति र नवीकरण गरेर कुल ५०० जनाले अनुमति लिएका हुन्।
तथ्यांक अनुसार असोज महिनासम्म १६५ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् भने ३३५ जनाले पुरानो श्रम स्वीकृति नवीकरण गराएका छन्। यसमध्ये असोज महिनामा मात्र २८ जनाले नयाँ श्रम स्वीकृति लिएका थिए।
गत आर्थिक वर्ष २०८१/८२ मा भने ८९२ जनाले नयाँ श्रम स्वीकृति लिएका थिए भने १ हजार ६६७ जनाको श्रम स्वीकृति नवीकरण गरिएको थियो। पछिल्लो वर्षहरूमार्फत हेर्दा विदेशी श्रमिकको नेपाल प्रवेश दरमा केही घटबढ देखिए पनि चिनियाँ नागरिकको संख्या निरन्तर उच्च देखिएको छ।
विभागका अनुसार नेपालमा काम गर्ने विदेशी श्रमिकमध्ये अधिकांश चिनियाँ नागरिक हुन्। आर्थिक वर्ष २०८०/८१ मा मात्र १ हजार ९०९ जना चिनियाँले श्रम स्वीकृति लिएका थिए। सो आवमा कुल ७२ देशका नागरिकले नेपालमा श्रम स्वीकृति लिएर काम गरेका थिए।
उनीहरू मुख्यतः सडक, जलविद्युत् आयोजना, विमानस्थल र अन्य पूर्वाधार निर्माणमा संलग्न चिनियाँ निर्माण कम्पनीहरूमार्फत आएका उच्च दक्ष तथा प्राविधिक श्रमिक हुन्।
२०७८ देखि २०८२ सम्मको पाँच वर्षको अवधिमा विदेशी श्रमिकको श्रम स्वीकृति तथ्यांक यसप्रकार रहेको छ:
-
२०७७/७८: २३९० जना
-
२०७८/७९: २४८५ जना
-
२०७९/८०: २९९७ जना
-
२०८०/८१: २७०७ जना
-
२०८१/८२: २५५९ जना
विभागले तीन महिनाको अवधिमा विभिन्न प्रतिष्ठानमा कार्यरत विदेशी श्रमिकबारे पाँच वटा अनुगमन गरेको छ। यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा कम देखिए पनि विभागले नियमित निगरानीमा जोड दिएको बताएको छ। गत वर्ष ३७ वटा अनुगमन गरिएको थियो।
उता, सोही अवधिमा नेपालबाट विदेशमा काम गर्न जाने नेपाली नागरिकको संख्या भने ४२ हजार ४६८ पुगेको विभागले जनाएको छ। असोज महिनामा मात्रै १५ हजार ८०५ श्रम स्वीकृति प्रदान गरिएको थियो।















