Logo

६ कात्तिक,वीरगञ्ज । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपालमा परिवर्तनका विभिन्न ऐतिहासिक आन्दोलनहरू मध्ये नयाँ पुस्ताको जेनजी आन्दोलन देशमा सत्य र न्यायको पक्षमा निर्णायक मोड बनेको बताएका छन्।

हिन्दूहरूको महान् पर्व दीपावली, तिहार र छठको अवसरमा बिहीबार रौतहटको कटहरिया नगरपालिका–५ मा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै उनले भने,“देश र संसारमा धेरै आन्दोलन भए—राणा विरुद्धको, माओवादी जनआन्दोलन, मधेस आन्दोलन। तर नेपालको दुई दिनको जेनजी आन्दोलनले युवाको जीत र भ्रष्टाचारको अन्त्यको सङ्केत दिएको छ।”

साहले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जेनजी आन्दोलनमा गरेको दमनलाई “इतिहासकै ठूलो गल्ती” भन्दै ओलीलाई *“हत्यारा र भ्रष्टाचारीको प्रतीक”*का रूपमा चित्रण गरे।

उनले जेनजी आन्दोलनलाई नयाँ राजनीतिक युगको सुरुवात बताउँदै भने,“यो आन्दोलन दलतन्त्र र लुटतन्त्र अन्त्य गर्ने अभियान हो। देश अब युवाको नेतृत्वमा नयाँ दिशातर्फ अघि बढ्नेछ।”

तीन वर्षअघि पार्टीगत टिकट अस्वीकार गरी स्वतन्त्र उम्मेदवारका रूपमा जनताको मतबाट निर्वाचित भएको स्मरण गर्दै साहले जनताको विश्वास नै आफ्नो शक्ति भएको बताए।
उनका शब्दमा,

“तीन वर्षदेखि सदनदेखि सडकसम्म म जनताको हकहितमा आवाज उठाउँदै आएको छु। भन्सार, वैदेशिक रोजगार, सहकारी पीडित, किसान र सुकुम्वासीका सवालमा लड्दै आएको छु। यो लडाइँ अझै पूरा भएको छैन, षड्यन्त्र जारी छ तर सत्य अन्ततः जित्नेछ।”कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता र सर्वसाधारणको उल्लेख्य उपस्थिती रहेको थियो।


सम्बन्धित समाचार