६ कात्तिक,काठमाडौं । काठमाडौंको मुटुमा अवस्थित ऐतिहासिक रानीपोखरीको बालगोपालेश्वर मन्दिर आज भाइटीकाको अवसरमा विशेष भीडले भरिएको छ। दाजुभाइ वा दिदीबहिनी नभएका व्यक्तिहरूका लागि यो मन्दिर आजको दिन विशेष आस्थाको केन्द्र बनेको छ।
वर्षमा केवल एक दिन—भाइटीकाको दिनमा मात्र भक्तजनहरूलाई मन्दिरभित्र प्रवेश गरी भगवान् बालगोपालेश्वरको दर्शन र टिका लगाउने अनुमति दिइने भएकाले बिहानैदेखि भक्तजनहरूको लामो लाइन लागेको छ।
मल्लकालदेखि चल्दै आएको यो परम्पराले आज पनि हजारौं भक्तजनका लागि सांस्कृतिक र भावनात्मक अवसर प्रदान गर्छ। इतिहासअनुसार, राजा प्रताप मल्लले १७औँ शताब्दीमा शिखर शैलीमा निर्माण गर्नुभएको यो मन्दिर २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भएपछि मूल शैलीमा पुनर्निर्माण गरिएको थियो। पुनर्निर्माणपछि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्दै सर्वसाधारणका लागि मन्दिर खुला गर्नुभएको थियो।
काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार, भाइटीकाको दिन मन्दिरमा आउने भक्तजनहरूको भिड व्यवस्थापन, सुरक्षा र सुविधा सुनिश्चित गर्न महानगरपालिका र व्यवस्थापन समितिबीच समन्वय गरिएको छ। उहाँले भक्तजनहरूलाई पूजाआजामा कुनै असुविधा नहोस् भन्ने व्यवस्था मिलाइएको बताउनुभयो। साथै, भीडभाडमा हुने चोरीडकैतीबाट सचेत रहन पनि आग्रह गर्नुभएको छ।
भाइटीकाको दिन यहाँ आउने भक्तजनहरू भगवान् बालगोपालेश्वरलाई दाजुभाइ वा दिदीबहिनीको प्रतीक मानेर टिका लगाउँछन् र आशीर्वाद ग्रहण गर्छन्। यसरी टिका लगाउँदा उनीहरूले पारिवारिक अपनत्व, माया र आत्मीयताको अनुभूति गर्ने विश्वास गरिन्छ।
विशेषगरी एक्ला व्यक्ति, विदेशमा रहेका वा परिवार गुमाएका नागरिकहरूका लागि यो परम्परा सामाजिक सान्त्वना र सम्बन्धको प्रतीक बनेको छ। इतिहासकारहरूका अनुसार, प्राचीन मल्लकालदेखि चलिआएको यो परम्पराले आजसम्म धार्मिक, सांस्कृतिक र सामाजिक महत्त्व कायम राख्दै आएको छ।
यसरी, रानीपोखरी केवल ऐतिहासिक स्थल मात्र नभई असहाय, एक्ला र परिवारविहीन मानिसहरूका लागि आशा र अपनत्वको प्रतीक बनेको छ। हरेक वर्ष यहाँ टिका लगाउने हजारौँ भक्तजनले यो परम्परामार्फत सांस्कृतिक एकता र पारिवारिक भावनालाई जीवन्त राख्ने अवसर पाउँछन्।

















