Logo

६ कात्तिक,काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले अन्तर व्यवस्थापिका संघ (IPU) को १५१औँ महासभामा सहभागी हुन जेनेभामा रहेका बेला अष्ट्रेलियाको संसद हाउस अफ रिप्रेजेन्टेटिभका सभामुख मिल्टन डिस्कसँग द्विपक्षीय भेटवार्ता गरेका छन्।

भेटमा दुई देशबीचको आपसी सम्बन्ध, द्विपक्षीय हित र सहयोग तथा संसदीय सहकार्यका विषयमा छलफल भएको राष्ट्रिय सभा सचिवालयले जनाएको छ। अध्यक्ष दाहालले अष्ट्रेलियाले नेपालको शिक्षा, स्वास्थ्य, सुशासन र सामुदायिक वन व्यवस्थापनमा गरेको योगदानको प्रशंसा गर्दै जलवायु परिवर्तन, नवीकरणीय ऊर्जा र स्थानीय सुशासनका क्षेत्रमा आगामी दिनमा अझ बढी सहकार्य हुने अपेक्षा व्यक्त गरे।

अध्यक्ष दाहालले अष्ट्रेलियामा १ लाख ८० हजारभन्दा बढी नेपाली नागरिक रहेको जानकारी दिँदै त्यहाँ ६० हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको उल्लेख गरे। उनले नेपाली समुदाय र विद्यार्थीहरूको सुरक्षा, सम्मान तथा सहयोगी वातावरणका लागि आभार व्यक्त गर्दै शैक्षिक साझेदारी, प्राविधिक तालिम र अनुसन्धानमा सहकार्य विस्तार गर्न आग्रह गरे।

त्यसैगरी, जेनेभामा उनले अन्तर व्यवस्थापिका संघ (IPU) का महासचिव मार्टिन चुङगोङ र भारतीय संसदीय प्रतिनिधि मण्डलका नेतृत्‍व अनुराग सिंह ठाकुरसँग पनि भेटवार्ता गरेका छन्। भारतीय प्रतिनिधिसँगको भेटमा अध्यक्ष दाहालले नेपाल–भारत सम्बन्ध मात्र औपचारिक नभई जनस्तरबाट पनि धेरै सशक्त रहेको बताए।

नेपालमा हालै सम्पन्न जनआन्दोलनपछि आएको नयाँ राजनीतिक परिवेश र आगामी निर्वाचनको तयारीबारे जानकारी दिँदै अध्यक्ष दाहालले निर्वाचन तोकिएको समयमा सम्पन्न गरी लोकतान्त्रिक सुदृढीकरणमा नेपाल सक्रिय रहेको बताए। साथै आन्दोलनका क्रममा क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माण र नयाँ निर्वाचनका लागि मित्रराष्ट्रहरूको सहयोगको अपिल गरे।

IPU महासचिवसँगको भेटमा अध्यक्ष दाहालले प्रतिनिधि सभा निर्वाचन र राष्ट्रिय सभाको विधायिकी भूमिका बारे जानकारी गराउँदै संसदीय अभ्यास सुधार गर्न र लोकतान्त्रिक संस्था सुदृढ गर्न अन्तर व्यवस्थापिका संघसँग सहकार्य गर्न चाहेको बताए।

यसैगरी, नेपाल र अष्ट्रेलिया बीचको समृद्ध सम्बन्ध र बहुआयामिक सहकार्यलाई थप मजबुत बनाउन यी भेटवार्ताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।


सम्बन्धित समाचार