Logo

६ कात्तिक,काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले २१ फागुनमा हुने निर्वाचन सफल पार्नुको विकल्प नरहेको बताएका छन्। ललितपुरमा आयोजित चियापान कार्यक्रममा उनले आफ्नो पार्टीले सरकारले निर्वाचन सफल पार्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले कांग्रेस र एमालेसहित सबै दललाई पनि चुनावका लागि तयार हुन आग्रह गरे।

पुनले भने, “संविधानलाई सही बाटोमा ल्याउन घोषित मितिमा चुनाव सम्पन्न गर्नुको विकल्प छैन। हामी चुनावका लागि प्रतिबद्ध छौँ र अरू दललाई पनि चुनावको पक्षमा उभिन आग्रह गर्छौँ।” केही दिनअघि उनले र नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा माओवादी चुनावको पक्षमा रहेको स्पष्ट गरेका थिए।

उनले २३ गतेको जनजागरण आन्दोलन सही भएको र २४ गतेको विध्वंस बाहिरबाट आएका घुसपैठिया समूहले गराएको बताए। २३ र २४ गते भएका दुवै घटनामा संलग्न अपराधीमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन्।

पुनले केपी ओली नेतृत्वको दुई तिहाइको सरकारले भ्रष्टाचार र बिचौलियाको स्वार्थमा केन्द्रित भएर जनतामा निराशा र आक्रोश बढाएको बताए। उनका अनुसार, नयाँ पुस्ताको अगुवाइमा जनता सडकमा आएको हो। उनले प्रमुख प्रतिपक्षीको रूपमा पटक–पटक सरकारलाई कार्यशैली सुधार्न आग्रह गरिए पनि नसुनेपछि विस्फोटको अवस्था आएको बताए।

उनले अध्यक्ष प्रचण्डले जनताको आक्रोशलाई समयमै बुझेर लाखौं जनता सिंहदरबार र बालुवाटार घेर्न आउँछन् भनेको स्मरण गराए। तर, सिंहदरबार जलाउन माओवादी संलग्न रहेको आरोप बेठीक भएको पुनको दाबी छ। प्रचण्डले जनताको असन्तुष्टि व्यक्त गर्न उक्त कार्य साङ्केतिक रूपमा गरेको पुनले व्याख्या गरे।

पुनले माओवादी र अन्य पार्टीहरू अलग रहेको र सुशासनको मामिलामा माओवादीको भूमिका फरक रहेको बताए। उनले प्रचण्ड नेतृत्वको सरकारले १८ महिनामा गरेको सुशासनका प्रयासलाई उदाहरणसमेत प्रस्तुत गरे।

उनले भ्रष्टाचार र अनियमितता छानबिनमा सहयोग गर्न आफ्नो दल तयार रहेको प्रतिबद्धता जनाए। साथै पार्टीका नेता कार्यकर्ता, समर्थक र मतदाताको शिर निहुराउने काम नगरेको पुनले बताए।


सम्बन्धित समाचार