Logo

६ कात्तिक,वीरगञ्ज । तिहारको उल्लास र झिलिमिलीबीच देशभर उत्सवको माहोल रहँदा बाराको सदरमुकाम कलैयामा युवाहरूले भने पर्वभन्दा पीडा ठूलो ठानेका छन्। उनीहरूले तिहारको बीचमा नै जीर्ण कलैया–सितलपुर सडक खण्डको पुनर्निर्माणका मागसहित ‘वृहत् हस्ताक्षर संकलन अभियान’ सुरु गरेका छन्।

करिब तीन किलोमिटर लामो यो सडक वर्षौंदेखि अत्यन्तै खराब अवस्थामा रहेको स्थानीयको गुनासो छ। धुलो र खाल्डाखुल्डीका कारण दैनिक यात्रु, व्यवसायी र विद्यार्थीहरू त्रसित छन्। बारम्बारका आश्वासन पुरा नभएपछि युवा सौरभ पाण्डेको नेतृत्वमा ‘हाम्रो सडक, हाम्रो अधिकार’ अभियान सुरु गरिएको हो।

अभियानको विशेषता भनेको तिहारकै बेला पनि नागरिकहरूको सक्रियता हो। भाइटीकाको दिनमा समेत स्थानीयहरू घरका पूजा–आराधना छोडेर सडकमा आएर हस्ताक्षर गरिरहेका थिए। बिहानदेखि बेलुकासम्म टोलीले घरघर, चोकचोकमा पुगेर हस्ताक्षर संकलन गरिरहेको छ।

अभियानका अगुवा सौरभ पाण्डे भन्छन्, “चाडपर्व त हरेक वर्ष आउँछ, तर यो सडकले हरेक दिन हामीलाई नरकको यात्रा गराइरहेको छ। अब आश्वासन होइन, काम गरेर देखाउनुपर्ने समय आएको छ।”

हालसम्म २,००० भन्दा बढी हस्ताक्षर संकलन भइसकेको छ भने आयोजकहरूको लक्ष्य ५,००० हस्ताक्षर संकलन गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बुझाउने रहेको छ। उनीहरूले सरकारलाई तत्काल सडक निर्माणको काम सुरु गर्न दबाब दिने तयारी गरेका छन्।

अभियानलाई स्थानीय महिला समूह, व्यवसायी र वृद्धवृद्धासमेतले साथ दिएका छन्। व्यापारीहरूका अनुसार सडकको खराब अवस्थाले बजारमा ग्राहक घटेको र धुलोका कारण स्वास्थ्य र व्यवसाय दुबैमा असर परेको छ।

अभियन्ताहरूले चेतावनी दिएका छन्, “यदि हस्ताक्षर बुझाएको केही समयभित्रै सरकार र ठेकेदारले ठोस कदम चालेनन् भने, कलैयावासी सामूहिक रूपमा सडकमा ओर्लिनेछन्, त्यसपछि यसको जिम्मेवारी सरकारले नै लिनुपर्नेछ।”

तिहारको बीचमा सुरु भएको यो आन्दोलनले कलैयाका नागरिकहरूको दीर्घकालीन पीडालाई राष्ट्रिय ध्यानमा ल्याएको छ।


सम्बन्धित समाचार