७ कात्तिक, वीरगञ्ज । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल)ले छठ पर्वपछि विश्वासको मत लिने तयारी गरेका छन्। उनी गत असोज २९ गते मुख्यमन्त्री नियुक्त भएका थिए। नेपालको संविधानअनुसार मुख्यमन्त्रीले नियुक्तिपछि ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ।
मुख्यमन्त्री सोनलले चाडपर्वका कारण तत्काल बैठक बोलाउन कठिन भएकाले छठ सम्पन्न भएपछि विश्वासको मत लिने तयारी भइरहेको बताए।
सोनल जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) र नेकपा एकीकृत समाजवादीको समर्थनमा सरकार गठन गरेका हुन्। यी पाँच दलका जम्मा ५७ जना सांसद छन् — जसपा नेपालका १९, जनमतका १३, माओवादीका ९, लोसपाका ९ र एकीकृत समाजवादीका ७ जना।
मधेश प्रदेश सभामा कुल १०७ जना सदस्य छन्। सरकार बनाउन ५४ मत आवश्यक पर्छ। तर जनमत पार्टीका निवर्तमान मुख्यमन्त्री सतिश कुमार सिंह र पूर्वमन्त्री त्रिभुवन साह जनमत फुटाएर बनेको जनस्वराज पार्टीमा सनाखत गरिसकेका छन्। निर्वाचन आयोगको निर्णय सर्वोच्च अदालतले हाल स्थगित गरेकोले ती सांसदहरू कानुनी रूपमा अझै जनमतकै कोटामा छन्। त्यसैले जनस्वराज पार्टीमा सनाखत गरे पनि उनीहरूलाई जनमत पार्टीकै ह्वीप लाग्नेछ।
यससँगै जसपा नेपालका एक सांसद सरोज सिंह कुशवाहा निलम्बनमा रहेकाले विश्वासको मतमा सहभागी हुन पाउने छैनन्। यस्तो अवस्थामा यदि जनमत पार्टीका दुई सांसदले मत नदिए, सोनलको समर्थन संख्या ठीक ५४ मा झर्न सक्ने अनुमान गरिएको छ।
तर मुख्यमन्त्री सोनल विश्वासको मत पाउनेमा ढुक्क छन्। “विश्वासको मतका लागि समस्या हुँदैन,” उनले बताएका छन्।

















