७ कात्तिक, काठमाडौं। कम्युनिस्ट घटकहरूबीच एकता प्रयास तीव्र बनेको बेला नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच पार्टी एकीकरण हुने लगभग पक्का भएको छ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई पनि एकीकृत पार्टीमा समेट्ने प्रयास जारी रहेको स्रोतले जनाएको छ।
वार्ता टोलीका सदस्यहरूका अनुसार दुवै पार्टीबीच अब एकीकरणमा कुनै ठूला मतभेद बाँकी छैन। नेतृत्व संरचनाबारे अन्तिम टुंगो लगाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई जिम्मा दिइएको छ।
निर्वाचन आयोगले दल दर्ताका लागि तोकेको समयअघि नै दुई पार्टीबीच एकता घोषणा हुने तयारी भएको बताइन्छ। पार्टीको नाम र चुनाव चिन्हबारे भने अन्तिम सहमति भइसकेको छैन। नेकपा समाजवादी पक्षले ‘कलम’ चिन्ह कायम राख्ने प्रस्ताव गरेको छ भने माओवादी केन्द्रले नयाँ प्रतीक खोज्ने सुझाव दिएको छ।
स्रोतका अनुसार, एकीकृत पार्टीको सिद्धान्त माक्र्सवाद–लेनिनवाद रहनेछ भने नीति तथा कार्यक्रम नेपाली विशेषतासहितको समाजवाद आधारित हुनेछ। यससँगै माओवादी केन्द्रले ‘माओवाद’ परित्याग गर्ने र एकीकृत समाजवादीले पहिले नै त्यागिसकेको ‘जनताको बहुदलीय जनवाद’ नदोहो¥याउने सहमति भएको छ।
नेकपा (एस) का नेताहरूका अनुसार, जबजका आधारभूत मूल्य र मान्यताहरू भने नयाँ पार्टीको कार्यनीतिमा समावेश गरिनेछ।
नयाँ पार्टीको नाम “नेपाल कम्युनिस्ट पार्टी समाजवादी” वा “नेपाली कम्युनिस्ट पार्टी समाजवादी” मध्ये कुनै एकमा टुंग्याउने तयारी भएको छ। ‘नेकपा समाजवादी केन्द्र’ नाम राख्ने प्रस्ताव पनि आएको थियो, तर छोटकरी नाम ‘सके’ हुने भएकाले त्यस्तो नाम नलिने सहमति बनेको बताइएको छ।
नेतृत्व टुंग्याउने जिम्मा प्रचण्ड र माधव नेपाललाई दिइएको छ। स्रोतका अनुसार, प्रचण्ड संयोजक र माधव नेपाल सह–संयोजक बन्ने प्रस्ताव अघि सारिएको छ। दुई अध्यक्षको मोडालिटी असफल भएको अनुभवका कारण यसपटक त्यो मोडालिटीमा नजाने समझदारी भएको छ।
यदि विप्लव समूह पनि एकीकृत पार्टीमा समेटिए भने अध्यक्ष मण्डल प्रणालीबारे पनि छलफल भइरहेको छ।
वार्ता टोलीका एक सदस्यका अनुसार, “अब पार्टी एकतामा कुनै ठूला अवरोध छैन। झलनाथ खनाल र घनश्याम भुसाल दुवैको व्यवस्थापन हुने भएपछि अब एकता रोक्ने कारण छैन।”
एकता घोषणा अघि दुवै पक्षका पदाधिकारी मिलाएर संयुक्त सचिवालय बनाउने र कमिटीहरूको संरचना समायोजन गर्ने विषयमा पनि छलफल अन्तिम चरणमा पुगेको छ। कम्युनिस्ट एकतालाई दीर्घकालीन बनाउन नेतृत्वले सावधानीपूर्वक सहमतिको मोडालिटी तय गर्न लागेको नेताहरूको भनाइ छ।
















