७ कात्तिक,वीरगञ्ज । मधेस प्रदेश सरकारले यसपालि छठको पारनका दिनपनि सार्बजनिक बिदा दिने निर्णय गरेको छ ।
संघीय सरकारले छठ पर्वमा एक दिन मात्र सार्वजनिक बिदा दिएकोमा मधेस प्रदेश सरकारले छठको ’पारन’ का दिन पनि बिदा दिने निर्णय गरेको छ । यस निर्णयसँगै मधेस प्रदेशमा छठ पर्वको अवसरमा लगातार दुई दिन सार्वजनिक बिदा हुने भएको छ ।
संघ सरकारले ’सँझियाँ घाटे’ को दिन अर्थात् कात्तिक १० गते मात्र बिदा दिएकोमा प्रदेशवासीको मागलाई सम्बोधन गर्दै मधेस प्रदेश सरकारले पारनको दिन अर्थात् कात्तिक ११ गते मंगलबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै कात्तिक ११ गते मंगलबारका दिन छठ पर्वको भोलिपल्ट मधेस प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराएको छ ।
तराई मधेश क्षेत्रमा लोक आस्थाको महापर्वका रूपमा मनाइने छठ पर्वमा उदाउँदो सूर्यलाई अघ्र्य दिएर ’पारन’ गरेपछि मात्र व्रत समाप्त हुने भएकाले दुई दिन बिदाको माग हुँदै आएको थियो । प्रदेश सरकारको यस निर्णयले छठ मनाउने सर्वसाधारणलाई सहज हुने देखिएको छ ।

















