Logo

७ कात्तिक,वीरगञ्ज । छठ पर्व नजिकिँदै गर्दा वीरगञ्ज महानगरपालिका–३२, चोर्नी पर्सामा रहेको नेपाल पेट्रो ल्युब इन्डस्ट्रिज प्राइभेट लिमिटेडका अधिकारीहरूमाथि स्थानीयवासीले दुर्व्यवहार गरेका छन्। कम्पनीबाट भइरहेको प्रदूषण नियन्त्रणको माग गर्दै आक्रोशित स्थानीयवासीको समूहले कम्पनीका जिम्मेवार अधिकारीहरूलाई कालो मोसो दलेर दुर्व्यवहार गरेको हो ।

स्थानीयवासीका अनुसार कम्पनीबाट उत्पादन हुने ‘म्याक्सोल ल्युब्रिकेन्ट’को रासायनिक फोहोर सिधै नजिकैको नदीमा मिसाउँदा पानी अत्यधिक प्रदूषित भएको छ । यसले गर्दा स्थानीयको स्वास्थ्यमा गम्भीर असर परेको उनीहरूको गुनासो छ ।

विशेषगरी, छठ पर्वको तयारी सुरु भइसकेको अवस्थामा नदीको दूषित पानीले व्रतालुहरूलाई स्वास्थ्य समस्या निम्त्याउने भन्दै स्थानीय आक्रोशित बनेका थिए । उनीहरूले प्रदूषण रोक्न वा कम्पनी नै बन्द गर्न माग गर्दै विगत एक सातादेखि आन्दोलन गर्दै आएका थिए ।

माग सुनुवाइ नभएपछि आज (शुक्रबार) चोर्नीका करिब ३० देखि ४० जना स्थानीयको समूह कम्पनीभित्र प्रवेश गरी हो-हल्ला र विवाद गरेको थियो । विवादकै क्रममा उनीहरूले कम्पनीका अधिकारीहरूलाई लक्षित गरी कालो मोसो दलेको प्रत्यक्षदर्शीले पुष्टि गरेका छन् ।

घटनालगत्तै जिल्ला प्रहरी कार्यालय पर्साको टोली घटनास्थल पुगी स्थिति नियन्त्रणमा लिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।


सम्बन्धित समाचार