Logo

९ कात्तिक,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले आज महानगर क्षेत्रभित्र रहेका विभिन्न छठघाटहरूको स्थलगत अनुगमन गरेका छन्। उनले घडिअर्वा पोखरी, रानीघाट, माईधिया पोखरी, श्रीपुर पोखरी र आदर्शनगरस्थित स्वीमिङ पुल छठघाटलगायतका प्रमुख स्थलहरूमा पुगेर तयारी अवस्थाको अवलोकन गरेका हुन्।

अनुगमनका क्रममा मेयर सिंहले प्रत्येक घाटमा भइरहेको सफा–सफाइ, सुरक्षा, प्रकाश व्यवस्था, आवत–जावतको सहजता र सरोकारवालासँगको समन्वय सम्बन्धी कार्यबारे जानकारी लिँदै सम्बन्धित अधिकारीहरूलाई आवश्यक निर्देशन दिएका थिए। उनले देखिएका कमजोरीहरू तत्काल सुधार गर्न, सुरक्षामा विशेष ध्यान दिन र सर्वसाधारणले सहज र सुरक्षित वातावरणमा पूजा गर्न सक्ने व्यवस्था मिलाउन निर्देशन दिए।

मेयर सिंहले भने, “छठ हाम्रो आस्था, संस्कृति र पहिचानको पर्व हो। यस पर्वमा जनताको सुरक्षालाई सर्वोच्च प्राथमिकता दिइनेछ। कुनै पनि घाटमा समस्या नहोस् भन्ने उद्देश्यले महानगरले सबै तयारी पूरा गरेको छ। जनताको विश्वास र सहजीकरण नै हाम्रो मुख्य जिम्मेवारी हो।”

उनका अनुसार महानगरले सबै छठघाटहरूमा प्रकाश, सरसफाइ, स्वास्थ्य तथा ट्राफिक व्यवस्थापनका लागि विशेष टोली खटाएको छ र सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ।

छठ पर्वका अवसरमा महानगरले नागरिकहरूलाई सुरक्षित, स्वच्छ र सहज वातावरणमा पूजा अर्चना गर्न सक्ने व्यवस्था सुनिश्चित गर्ने जनाएको छ।


सम्बन्धित समाचार
भर्खरै