९ कात्तिक, काठमाडौं । नवनियुक्त दुई मन्त्रीले आज (आइतबार) राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्। शीतल निवासमा आयोजित एक समारोहका बीच राष्ट्रपति पौडेलले डा. सुधा शर्मा गौतम र बब्लु गुप्तालाई शपथ गराएका हुन्।
यसअघि प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले शर्मा गौतमलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र गुप्तालाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका थिए।
यद्यपि, मन्त्रीमा सिफारिस भएका अन्य दुई जना खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठको भने विवादका कारण शपथ रोकिएको छ। सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिनेगरी राष्ट्रपतिसमक्ष सिफारिस भएको थियो।
श्रम मन्त्रीमा सिफारिस भएका सुनारको हकमा अनेक विवादित काण्डका प्रमाण बाहिर आएपछि उनको शपथ ग्रहण रोकिएको हो भने श्रेष्ठको शपथ रोकिनुको कारण भने अझै खुलिसकेको छैन।
आजको शपथसँगै प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिमण्डलमा मन्त्रीहरूको संख्या सात पुगेको छ।

















