Logo

११ कात्र्तिक, काठमाडौँ । संसदीय राजनीतिमा प्रवेश गर्ने औपचारिक निर्णय गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अब कानुनी रूपमै दलको रूपमा स्थापित हुने भएको छ ।

पार्टीले आज निर्वाचन आयोगमा दल दर्ता गर्नका लागि टोली पठाउँदैछ । पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा र स्थायी समिति सदस्य कर्णजित बुढाथोकी (कार्यदलका संयोजक) सहितको टोली दिउँसो १२ः४५ बजे आयोग जाने कार्यक्रम छ । दल दर्ताका लागि पार्टीले प्रस्तावित नाम ‘कम्युनिस्ट पार्टी नेपाल लिएर गएको सदस्य चिरञ्जीवी ढकालले जानकारी दिएका छन् । ढकालका अनुसार, नामको सम्बन्धमा आयोगका पदाधिकारीहरूसँग छलफल गरिनेछ र सकेसम्म ‘फुर्को नजोडिएको’ नाम राख्ने प्रयास गरिनेछ।

कम्युनिस्ट पार्टी नेपाल बाहेक अन्य विकल्पहरूमा छलफल भइरहेको छ । दल दर्ता कार्यदलले चुनाव चिन्हबारे निष्कर्षमा पुग्न बाँकी रहेको जनाएको छ । पार्टी दर्ताका लागि १५ सय जनाको हस्ताक्षर र विधान तयार पारिएको छ ।

नेकपाले गत २०८१ चैत १९ गते नै संसदीय निर्वाचनमा भाग लिने आधिकारिक निर्णय गर्दै दल दर्ताका लागि बुढाथोकीको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको थियो । भूमिगत राजनीतिबाट खुल्ला र कानुनी प्रतिस्पर्धामा आउनुलाई विप्लव नेतृत्वको यो कदमलाई महत्त्वपूर्ण राजनीतिक मोडका रूपमा हेरिएको छ ।


सम्बन्धित समाचार