काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेवानि) मा निवर्तमान कार्यकारी अध्यक्ष युवराज अधिकारीले अवकाशमा जानुअघि विनाप्रतिस्पर्धा करारमा भर्ना गरेका ४५ जना कर्मचारीलाई चर्को विरोधका बाबजुद संस्थानले हाजिर गराएको छ ।
अधिकारीले संस्थालाई दीर्घकालीन आर्थिक भार पर्ने गरी तेस्रो, चौथो र पाँचौँ तहमा भर्ना गरेका यी कर्मचारीहरूलाई मंगलबारदेखि काममा लगाइएको हो ।
अधिकारी ७ कात्तिकदेखि अवकाशमा गए पनि उनले नियुक्त गरेका कर्मचारीहरूलाई मंगलबार ११ कात्तिकको मितिबाट हाजिर गराइएको छ । अधिकारी निकट मानिने ग्राउन्ड सपोर्ट विभागका निर्देशक डोलेश्वर कोइरालाले कर्मचारी संघ र ट्रेड युनियनहरूको विरोधबीच उनीहरूलाई हाजिर गराएका हुन् ।
नेवानि कर्मचारी संघका उपाध्यक्ष नेत्र राउतका अनुसार, ‘निगम व्यवस्थापनले पैसा लिएर कर्मचारी भर्ना गरेको आरोप लागेको छ। यस्तो लज्जास्पद गतिविधि भएकाले हामीले हाजिर नगराउन भनेका थियौँ, तर निर्देशक कोइरालाले विरोध गर्ने युनियनकर्मीलाई कारबाही नै गरेर उनीहरूलाई हाजिर गराए।’ यता, निर्देशक कोइरालाले भने आफूसँग नियुक्ति बदर गर्ने अधिकार नभएको भन्दै मानव संसाधन विभागको पत्रका आधारमा हाजिर गराएको स्पष्टीकरण दिएका छन् ।
नियम मिचेर अन्तिम घडीको नियुक्ति
लोक सेवा आयोगको व्यवस्थाअनुसार, श्रेणीविहीन वा कार्यालय सहयोगी पदबाहेकका पदमा करारमा नियुक्ति गर्दा प्रतिस्पर्धा अनिवार्य गर्नुपर्छ। तर अधिकारीले तेस्रो, चौथो र पाँचौँ तहमा लिखित परीक्षा र प्रतिस्पर्धाबिनै नाम मात्रको अन्तर्वार्ताबाट यी कर्मचारी भर्ना गरेका हुन् । अवकाशमा जान एक महिना मात्र बाँकी हुँदा गरिएको यो निर्णयले संस्थालाई ठूलो आर्थिक भार थपेको छ । स्रोतका अनुसार, अधिकारीले मात्र भर्ना गरेका दैनिक ज्यालादारी तथा करारका कर्मचारीका लागि मासिक ६० देखि ७० लाख रुपैयाँ खर्च हुने गरेको छ । नेवानिमा कार्यरत कुल १ हजार ४ सयभन्दा बढी कर्मचारीमध्ये आधाभन्दा बढी विभिन्न समयमा राजनीतिक नियुक्ति पाएका पार्टीका कार्यकर्ता रहेको स्रोत बताउँछ ।
हाल चारवटा जहाज मुस्किलले उडान गरिरहेको र अर्बौं रुपैयाँ ऋण तिर्न नसकेको अवस्थामा अधिकारीले नयाँ आउने मन्त्रीलाई रिझाउने औजारका रूपमा अन्तिम मौका छोपी ठूलो सङ्ख्यामा कर्मचारी भर्ना गराएर संस्थागत बेथितिलाई थप गहिराएका छन् ।
















