Logo

१३ कात्र्तिक, काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले गृहमन्त्री ओम प्रकाश अर्याललाई कसैको दबाब वा प्रभावमा हटाउने निर्णय नहुने स्पष्ट पारेको छ ।

हालै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले गृहमन्त्रीलाई हटाउन प्रधानमन्त्रीलाई दबाब दिएको भनी सार्वजनिक भएका समाचारहरूलाई खण्डन गर्दै सचिवालयले यस्तो जानकारी दिएको हो । प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले एक प्रेस नोट जारी गर्दै मन्त्री बनाउने वा हटाउने विषय विशुद्ध प्रधानमन्त्रीको अधिकार क्षेत्रको विषय भएको र कसैको दबाब वा प्रभावमा यस्तो निर्णय हुन नसक्ने उल्लेख गरेका छन् ।

प्रेस नोटमा लेखिएको छ, ‘कसैलाई कुनै मन्त्री बनाउने वा हटाउने विषय विशुद्ध सम्मानीय प्रधानमन्त्रीज्यूको अधिकार क्षेत्रको विषय हो। कसैको दबाब वा प्रभावमा यस्तो निर्णय हुन पनि सक्दैन।’ गृहमन्त्री अर्याल असामान्य परिस्थितिमा राष्ट्रको गम्भीर जिम्मेवारी वहन गर्दै आफ्नो कार्यमा सक्रिय रहेको श्रेष्ठले जनाएका छन् । उनका अनुसार गृहमन्त्री आगामी निर्वाचनका लागि आवश्यक वातावरण निर्माण गर्ने, शान्ति–सुरक्षा कायम राख्ने र सुरक्षा निकायहरूको मनोबल उच्च राख्ने कार्यमा लागि परेका छन् ।

प्रधानमन्त्रीको सचिवालयले यस संवेदनशील परिस्थितिमा अफवाह नफैलाउन र त्यस्ता हल्लाहरूमा विश्वास नगर्न पनि सम्बन्धित सबै पक्षलाई अनुरोध गरेको छ । यसरी, सचिवालयले गृहमन्त्री अर्यालको निरन्तरता र प्रधानमन्त्रीको निर्णय क्षमतामाथि कुनै बाह्य हस्तक्षेप स्वीकार्य नहुने स्पष्ट सन्देश दिएको छ।


सम्बन्धित समाचार