१३ कात्र्तिक, काठमाडौं । आज बिहीबार बिहानैदेखि देखिएको प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई सेवा नराम्ररी प्रभावित भएको छ ।
कम भिजिविलिटी (भिजिबिलिटी) का कारण अन्तर्राष्ट्रिय उडानका जहाजहरू काठमाडौंमा अवतरण गर्न नसकेर छिमेकी मुलुकका विमानस्थलतर्फ ‘डाइभर्ट’ भएका छन् । नेपाल एयरलाइन्सको दोहाबाट आएको जहाजलाई नयाँदिल्ली, भारततर्फ डाइभर्ट गरिएको छ। एयर इन्डियाको दिल्लीबाट काठमाडौं आएको जहाजलाई लखनऊ, भारतमा उतारिएको छ ।
दिल्लीबाटै आएको इन्डिगो एयरको जहाजसमेत काठमाडौंमा अवतरण गर्न नसकेपछि दिल्ली नै फर्काइएको छ । विमानस्थलका अधिकारीहरूका अनुसार कम भिजिबिलिटीका कारण जहाजहरू निर्वाध रूपमा उडान–अवतरण गर्न नसकेपछि डाइभर्ट गर्नुपरेको हो ।
अन्तर्राष्ट्रिय उडानसँगै आन्तरिक उडानहरू पनि प्रभावित भएका छन् । आज बिहानको समयमा विशेषगरी लुक्लातर्फका निर्धारित उडानहरू खराब मौसमका कारण रद्द गरिएका छन् । मौसममा सुधार नआएसम्म उडान तालिका थप प्रभावित हुनसक्ने भएकाले विमानस्थलले यात्रुहरूलाई आफ्नो उडानको जानकारी लिएर मात्रै यात्रा गर्न अनुरोध गरेको छ ।














