Logo

१३ कात्तिक, वीरगञ्ज । दिपावली र छठ पर्व मनाउन आफ्ना घर आएका कर्मचारी, विद्यार्थी र मजदुरहरू अहिले राजधानी फर्किने क्रममा अत्यधिक भाडा असुलीका कारण सास्ती भोगिरहेका छन् । वीरगञ्जबाट काठमाडौँ, पोखरा, धनगढी लगायतका लामो दूरीका यात्रामा तोकिएको भन्दा दोब्बरसम्म बढी भाडा तिर्न यात्रुहरू बाध्य छन् ।

सडक यातायात व्यवस्था विभागले तोकेको दरअनुसार वीरगञ्ज–काठमाडौँ मार्गको भाडा करिब रु. ८०० निर्धारण गरिएको छ । तर छठ पर्व सकिएलगत्तै यही मार्गमा यात्रुहरूले रु. १,००० देखि १,८०० सम्म भुक्तानी तिर्नु परेको बताउँदै आएका छन् ।

बहुदरमाई नगरपालिका–५ का मोहन पसवान भन्छन्, “काठमाडौँबाट घर आइपुग्दा पनि बढी पैसा तिर्नुप¥यो, फर्किँदा त झन् दोब्बर भाडा तिर्न बाध्य छौं । गाडी नपाइने डरले बढी पैसा दिनु बाहेक अरू विकल्प छैन।”
त्यस्तै, अर्का यात्रु तुलसी पौडेलले पनि उस्तै समस्या भोग्नुपरेको बताए ।

उनका अनुसार छठ पर्व सकिएपछि घरबाट काठमाडौँ फर्किनका लागि उनी करिब दुई घण्टासम्म सवारीको प्रतीक्षामा बसे पनि कुनै गाडी पाउन सकेनन् । अन्ततः उनले रु. १८ सय तिरेर मात्रै सिधा गायारेजगसम्म पुग्ने सवारी पाएका थिए । “सिधा बस भनी ल्याएर बीचमै झार्ने, सोमु वा भ्यानमा चढाएर अतिरिक्त पैसा असुल्ने जस्ता काम खुलेआम भइरहेको छ,” पौडेलले दुखेसो पोख्दै भने ।

यात्री कलाम अंसारीका अनुसार केही चालक र दलालहरूले यात्रुहरूलाई जबरजस्ती सवारीमा चढाएर मनोमानी रूपमा बढी भाडा असुलिरहेका छन् । “प्रहरीको सामुन्ने यात्रुहरूलाई लुट्दै हिँड्नेहरूलाई कसैले रोक्दैन । प्रहरीहरू हेरिरहेका हुन्छन्, तर कारबाही भने हुँदैन,” उनले आरोप लगाए ।

यता जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी सुदीपराज पाठकले भने यस्तो घटना भेटिए आवश्यक कारबाही गरिने बताएका छन् । “प्रहरी नियमित अनुगमनमा खटिएको छ । तोकिएको भन्दा बढी भाडा असुल्ने वा यात्रुलाई ठगी गर्ने पाइएको खण्डमा कडा कारबाही गरिनेछ,” उनले भने ।

तर, यात्रुहरूका अनुसार हरेक वर्ष यस्तै समस्या दोहोरिनु राज्य र सम्बन्धित निकायको निष्क्रियता हो । छठ र तिहार जस्ता पर्वका समयमा घर फर्किने यात्रुहरूको अत्यधिक चाप हुने हुँदा यातायात व्यवसायीहरूले यसै अवसरमा मनोमानी गर्ने गरेका छन् ।

सामाजिक अभियन्ता तथा स्थानीय बासिन्दाहरूले पनि सरकार र यातायात विभागको ध्यानाकर्षण गराउँदै यस्ता समस्या समाधानका लागि दिगो योजना ल्याउन माग गरेका छन् । “हरेक वर्ष यात्रु शोषण भइरहँदा पनि सरकारले केवल बयान दिने काम मात्र गर्छ । यस वर्ष पनि उस्तै स्थिति दोहोरिएको छ,” उनीहरूले भने ।

यातायात क्षेत्रमा व्याप्क बिचौलीया, प्रशासनको कमजोरी र यात्रु अधिकारको बेवास्ता जस्ता कारणले वीरगञ्जदेखि राजधानीसम्मका यात्रुहरूले चर्को मूल्य तिरेर पनि सास्ती झेल्न बाध्य भएको यथार्थ फेरि एकपटक सतहमा आएको छ ।


सम्बन्धित समाचार