१३ कात्तिक,महोत्तरी । महोत्तरी जिल्लाको औरही नगरपालिका–४, कटुधारमा नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट १० वर्षीया बालिका शिवानी यादवको मृत्यु भएपछि स्थानीय बासिन्दा आन्दोलित भएका छन्।
बुधबार अपरान्ह स्थानीय गोविन्द यादवकी छोरी शिवानी साइकलमा जाँदै गर्दा मोटरसाइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन्। उनको उपचारको क्रममा राति महोत्तरीको जानकी एकेडमिक हस्पिटलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी शैलेन्द्र भट्टले जानकारी दिएका छन्।
घटनापछि स्थानीय बासिन्दाले दोषी चालकलाई तुरुन्त पक्राउ गरी कारबाहीको माग गर्दै कटुधार खण्डको हुलाकी राजमार्ग आज बिहान ११ बजेदेखि अवरुद्ध गरेका थिए। डिएसपी भट्टका अनुसार, कालो ज्याकेट लगाएको व्यक्तिले मोटरसाइकल चलाउँदै ठक्कर दिएको बताइएको छ र प्रहरीले चालकको खोजतलास जारी राखेको छ।
स्थानीयवासी र प्रहरी प्रशासनबीच इलाका प्रहरी कार्यालय गौशालामा वार्ता पनि भएको थियो। मृतक परिवार र स्थानीय प्रतिनिधिहरूले दुई दिनभित्र दोषी पत्ता लगाएर कारबाही अघि बढाउने प्रहरीको प्रतिबद्धता पाएपछि मात्र सडक खोल्न तयार भएको बताएका छन्।
















