Logo

१४ कात्तिक,वीरगञ्ज । वातावरण संरक्षण र हरियाली अभियानलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ वीरगञ्ज महानगरपालिका वडा नं. २४ (आईसीपी जाने टर्निङ) मा आज वृक्षारोपण तथा व्यवस्थापन कार्यक्रम सम्पन्न गरिएको छ।

वीरगञ्ज महानगरपालिका कार्यालय, भारतका महावाणिज्य दूतावास वीरगञ्ज, ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र तथा ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगर–१०, वीरगञ्जको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख मेयर राजेशमान सिंह रहनुभयो। कार्यक्रम सामुदायिक प्रहरी आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतानको अध्यक्षतामा सम्पन्न भएको थियो।

कार्यक्रमका विशिष्ट अतिथिहरूमा वरिष्ठ प्रहरी उपरीक्षक शान्ति राज कोईराला, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख सुदीप राज पाठक, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख विक्रम सुबेदी, जिल्ला ट्राफिक कार्यालय पर्साका प्रमुख युवराज कटवाल, तथा भारतीय महावाणिज्य दूतावास वीरगञ्जका दूत डी.एस. मिना लगायतका गण्यमान्य व्यक्तिहरूको उपस्थिति रहेको थियो।

आजको प्रतिकूल मौसम र निरन्तर वर्षा हुँदाहुँदै पनि सहभागीहरूले उत्साहपूर्वक वृक्षारोपण, व्यवस्थापन तथा सरसफाइ कार्य सम्पन्न गरेका थिए। कार्यक्रममा करिब १०० वटा विभिन्न प्रजातिका बिरुवाहरू रोपण गरिएको थियो।

सामुदायिक प्रहरी आदर्शनगरका आजीवन सदस्य, प्रहरी कर्मचारी, पदाधिकारीहरू र स्थानीय समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा मेयर सिंहले यस्तो अभियानले वीरगंजलाई हरियो, स्वच्छ र सुन्दर शहर बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले वृक्षारोपण मात्र नभई त्यसको संरक्षणमा पनि सबैको समान जिम्मेवारी हुनेमा जोड दिएका थिए ।


सम्बन्धित समाचार