१४ कात्र्तिक, काठमाडौं । नेपाली कांग्रेसभित्र पार्टीको १५औं महाधिवेशन कहिले गर्ने भन्ने विषयमा संस्थापन र इतर समूहबीच चर्को विवादले निकास पाउन नसकेपछि केन्द्रीय कार्यसमिति बैठक दुई दिनका लागि स्थगित गरिएको छ ।
शुक्रबार दिउँसो १ बजे बोलाइएको बैठक अब आइतबार दिउँसो १ बजेसम्मका लागि सारिएको छ। बैठक सार्नुको मुख्य कारण महाधिवेशनको मिति मिलाउन कार्यवाहक सभापति र महामन्त्रीहरूबीच शुक्रबार दिनभर भएका तीन पटकसम्मका अनौपचारिक छलफल असफल हुनु हो। डा. शेखर कोइराला नेतृत्वको इतर समूह पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित वर्तमान कार्यसमितिको म्याद मंसिर मसान्तमा सकिने भएकाले आगामी मंसिरभित्रै नियमित महाधिवेशन गरिसक्नुपर्ने अडानमा रहेको छ ।
यसैगरी, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि नियमित वा विशेष महाधिवेशनको मागमा जोड दिँदै २ हजार ४८८ महाधिवेशन प्रतिनिधिबाट विशेष महाधिवेशनको मागसहितको पत्र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएका थिए । तर, संस्थापन पक्षले भने महाधिवेशनको मिति २०८३ वैशाख मा सार्नुपर्ने अडान लिएपछि विवाद झन् बढेको र सहमति नजुट्दा केन्द्रीय समितिको बैठक स्थगित गर्नुपरेको नेताहरूले जनाएका छन् ।

















