Logo

१५ कार्तिक, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले पार्टी पुनर्गठन गर्ने घोषणा गरेका छन्।

शुक्रबार सम्पन्न केन्द्रीय समिति बैठकमा अध्यक्ष माधवकुमार नेपालले नेकपा (माओवादी केन्द्र)सहितका दलसँग एकता गर्ने प्रस्ताव प्रस्तुत गरेका थिए। सो प्रस्ताव बहुमतले पारित भएपछि नेता खनाल असन्तुष्ट हुँदै पार्टी पुनर्गठनको घोषणा गरेका हुन्।

बैठकमा खनालले अध्यक्ष नेपालले एमालेबाट विद्रोह गरेर बनाएको पार्टीलाई अन्ततः माओवादीमा “विसर्जन” गरेको आरोप लगाए। उनले भने, “विद्रोहदेखि विसर्जनसम्म माधव कमरेडको यात्रा टुङ्गियो, अब हामी यही पार्टीका साथीहरू मिलेर नेकपा (एकीकृत समाजवादी) पुनर्गठन गर्छौं, नभए नयाँ पार्टी बनाउँछौं।”

खनालको ती टिप्पणीपछि बैठक हलमा केही समय होहल्ला भएको थियो। खनालले आफूलाई बोल्न नदिई माइक बन्द गरिएको आरोप लगाउँदै अध्यक्ष नेपालमाथि तानाशाही प्रवृत्ति देखाएको गुनासोसमेत गरेका थिए।

यसबीच, अध्यक्ष नेपाल पक्षले अघि सारेको एकताको प्रस्ताव भने पारित भएको छ। उपाध्यक्ष जगन्नाथ खतिवडाका अनुसार अब छिट्टै माओवादी केन्द्र, नेकपा (नेशनल सोसलिस्ट पार्टी) र अन्य केही दललाई समेटेर नयाँ एकीकृत पार्टीका रूपमा निर्वाचन आयोगमा दर्ता प्रक्रिया अघि बढाइनेछ।


सम्बन्धित समाचार