१५ कात्तिक,काठमाडौं । नेपाली कांग्रेसले पार्टी महाधिवेशनको मिति निर्धारणका विषयमा चलिरहेको अन्यौलबीच पदाधिकारी बैठक बोलाएको छ। पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक बोलाइएको र सुरू हुन लागेको जानकारी दिएका छन्।
यसअघि शुक्रबार बस्ने तय गरिएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक कार्यवाहक सभापति पूर्णबहादुर खड्काले स्थगित गरेका थिए। खड्काले पार्टीभित्र महाधिवेशनको तिथि र तयारीबारे सहमति जुटाउन समय आवश्यक भएको भन्दै बैठक स्थगित गरेका हुन्।
कांग्रेसले स्थगित बैठक अब आइतबार दिउँसो १ बजेका लागि पुनः आह्वान गरेको छ। आज बस्ने पदाधिकारी बैठकले महाधिवेशनको मिति तय गर्ने र आगामी कार्यदलका एजेन्डाबारे दिशा–निर्देश दिने अपेक्षा गरिएको छ।
पार्टी स्रोतका अनुसार, आगामी महाधिवेशन कहिले गर्ने भन्ने विषयमा शीर्ष नेताहरूबीच अझै सहमति जुट्न नसकेको बताइएको छ।
















