१५ कात्तिक,वीरगञ्ज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका फोहोर व्यवस्थापनलाई दीगो बनाउने लक्ष्यसहित फोहोरमैला प्रशोधन केन्द्र निर्माणको तयारीमा जुटेको छ। उपमहानगरले यसका लागि नगरवासीहरूबाट राय तथा सुझाव संकलन प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ।
नगरमा दिनहुँ बढ्दो फोहोर व्यवस्थापन चुनौतीको दीगो समाधानका रूपमा यो केन्द्रलाई लिइएको उपमहानगरपालिकाले जनाएको छ। नेपाल सरकारको शहरी विकास मन्त्रालयले कार्तिक २ गते पत्रमार्फत उपयुक्त सरकारी वा पर्ती जग्गा सिफारिस गर्न आग्रह गरेपछि राय संकलन प्रक्रिया आरम्भ गरिएको हो। मन्त्रालयले कार्तिक २३ गतेभित्र जग्गा विवरणसहितको प्रस्ताव पठाउन निर्देशन दिएको छ।
यसै क्रममा उपमहानगरपालिकाले नगरभित्र प्रशोधन केन्द्रका लागि सम्भावित स्थानहरू पहिचान गर्न सर्वसाधारणको सहयोग मागेको छ। इच्छुक नागरिकहरूले कार्तिक १८ गतेभित्र आफ्ना सुझाव इमेल वा पत्रमार्फत पठाउन सक्ने व्यवस्था गरिएको छ।
नगर प्रमुख राजन पौडेलका अनुसार फोहोरमैला प्रशोधन केन्द्रको स्थापना नगरलाई सफा र वातावरणमैत्री बनाउन महत्वपूर्ण कदम हुनेछ। “नागरिक सहभागिताविना यस्तो योजना सफल हुँदैन,” उनले भने, “सबै समुदायको साथ र सुझावले यो योजना प्रभावकारी बन्नेछ।”
उपमहानगरले यस परियोजनामार्फत फोहोर व्यवस्थापन प्रणालीलाई व्यवस्थित गर्दै जीतपुरसिमरा सहरलाई सफा, स्वस्थ र दिगो बनाउने लक्ष्य लिएको जनाएको छ।
















